
ढुङ्गोले बजाउनेलाई फूलले
मुसार्ने मान्छे होईन म,
अकारण माफीको भारले किचिएर
लचक्क निहुरिने अनि
थप्पडको बदलामा थपडी पैँचो लगाएर
‘मौका’ को चोर् दैलो पर्खिने
एउटाको नजरको आशंका
र अर्कोको नजरको ‘कृपालु’ मान्छे हुँदैहोइन म,
फूलको अपेक्षा गर्नेले ढुङ्गो ताक्नु हुँदैन
आफूलाई जोगाउने हर कोहिले अर्कोलाई निमोठ्नु हुँदैन,
नीतिका उपदेशहरू व्यबहारमा लागू गरिनु पर्छ
नत्र ओठे नीतिकथाहरु यसै फैलन्छन्,
र त म भन्छु
ओठका प्रार्थना चुपचाप सुनिदिएर
खल्तिमा लुकाइएका धारिला हतियारको पूजागर्ने
र नुनको मूल्यमा हरबार खुन बेच्ने मान्छे होईन म
देख्छु बिनाकारण सजायको भागिदार बनाइन्छ
या सामथ्र्यभन्दा ठूलो प्रतिष्ठाको पट्टिले
आँखा छोपिइन्छ, मुख टालिइन्छ
र बन्द ओठभित्र ‘स्विकारोक्ति’ को मन्त्र पढाइन्छ
अनी ‘सेतो झुट’ बधशालामा बेफिक्री ‘उत्साह’ हरूको बली चढाइन्छ,
म भन्छु म त्यो होइन जो तिमि निरन्तर बेचिरहेछौ
वा कौडीको भाउमा हाटबजारमा किनिरहेछौ
अहँ ! ‘वशिकरण’ को ‘लत’ मा
बोकिनसक्नुको अभिनन्दन–दाम्लोमा बाँधिएर
चुपचाप कपटी मियोको पहरार्थ घुम्ने मान्छे होईन
म ।
deepssanu@gmali.com
वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:३५ मा प्रकाशित





























