
२५ बैशाख, बिराटनगर । मोरङको रंगेली नगरपालिका ८, दर्वेशाका कमल प्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी र प्रशासन धाइरहेका छन् ।
डेढ लाख नगद र एउटा मोटरसाइकल लिइसकेका बेहुला विवाहको दिन जन्ती लिएर नगएपछि उनी न्याय खोज्दै धाउन बाध्य भएका हुन् । कमलले छोरीको बिबाह विराटनगर महानगर १, रानीका अजय कुमार साहसँग ८ गते गर्ने पक्का गरेका थिए ।
त्यसै अनुसार कार्ड छापेर आफन्त र छिमेकलाई निम्तो पनि दिइसेकेका थिए । विवाहको दिन उनी सबै तयारी गरी रातभर बेहुला र जन्तीको प्रतिक्षामा बसे । कोहि आएनन् ।
यसपछि उनी आफूले दिएको डेढ लाख रुपैयाँ र मोटरसाइकल फर्काउन प्रहरी प्रशासन गुहारिरहेका छन् ।
विहेमा करिब ३ सय निम्तालु बोलाइएका थिए । तर, विवाहको दिन बेहुलाले बेहुलीको मोबाइलमा फोन गरी ‘ म तिमीसँग विवाह गर्दिन र मेरो अर्को केटी साथी छ’ भनेर म्यासेज पठाएको बेहुलीका दाजु विजयले बताए । बुधबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ वैशाख २५ बुधवार ०८:२२ मा प्रकाशित