
काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुकै कारण मृत्यु भएको पत्ता लागेको जानकारी स्वास्थ्य मन्त्रालयले नै पत्रकार सम्मेलन गरेर जानकारी दिएको र चितवन, हेटौडा लगायतका विभिन्न जिल्लामा खोलिएका कुखुरा फर्ममा बर्डफ्लु लागेको भन्दै कुखुरा नष्ट गर्ने अभियान चलिरहेका बेला मासुका पारखीहरु कुखुराको मासु उपयोग गर्न डर मानिरहेका छन् ।
उता उपभोक्ताले कुखुराको मासु उपयोग नगरिरहेको र सकारले बर्डफ्लु फैलिन नदिन भनेर कुखुरा नष्ट गरिरहेका बेला कयौं कुखुरा व्यवसायीहरुको करौडौ रुपैयाँ डुबिरहेको छ । वर्सेनी आउने बर्डफ्लुका कारण कतिपय कुखुरा पालक व्यवसायीहरु यस पेशाबाट विस्थापित समेत भइरहेका छन् । यसले किसान तथा उपभोक्ता मात्र नभएर देशकै अर्थतन्त्रमा असर पारेको कुखुरापालक किसान तथा अष्ट ज अभियन्ता ललितपुरका राम कुमार केसी बताउँछन् ।
उनका अनुसा देशभरीका ६० प्रतिशत कुखुरापालक किसान आफ्नो व्यवसायबाट पुन : उठ्नै नसक्ने गरी विस्थापित भएका छन् ।
बर्डफ्लु भन्दा पनि आयातित चल्लामा रोग देखिने, दाना महँगोहुने र बेला बेलामा आउने बर्डफ्लुको हल्लाले व्यवसाय गर्ने आँट नै मरेको केसी बताउँछन् ।
काभ्रेका युवाको मृत्युका सम्बन्धमा केसी भन्छन्, ‘ती युवा यो व्यवसयमा सम्बन्धित व्यक्रि नै होइनन्, कसरी त्यस्तो भयो यो त कुखुरा व्यवसायीलाई माथि उठ्न नदिने सुनियोजित षड्यन्त्र हो कि, नभए देशभरीका कुखुरा पालक किसान बर्डफ्लुका कारण शारिरीक रुपमा प्रभावित भएको थाहा छैन ।’
त्यस्तै भनाई छ वरिष्ठ पशुचिकित्सक डा केदार कार्कीको पनि । कुखुराको मासु खाएरै मानिसको मृत्यु भएको समाचार कमै सुनिएपनि बर्डफ्लुको कुरा आएका बेला कुखुराको मासु खाँदा भने सजगता अपनाउनुपर्ने उनको भनाई छ ।
कार्कीका अनुसार कुखराको मासु ७० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा पकाएर खाँदा स्वास्थ्यका लागि सुरक्षित मानिन्छ ।
तर, बर्डफ्लु लागेको समाचार आइरहेका बेला सजगता भने अपनाउनुपर्छ । कुखुराको मासुलाई काँचै तथा कम पकाएर खान भने नहुने डा. कार्कीको सुझाव छ । त्यस्तै काँचो मासु तरकारीसँग लसपस हुनबाट पनि बचाउनुपर्छ ।
त्यस्तै कुखुराको मासु काट्ने मानिस वा पकाउनु अघि मासु काट्ने मानिसले हातमा पञ्जा लगाउनु पर्ने र मुखमा माक्स तथा एप्रोन लगाएर मात्र मासु पकाउने तथा चलाउने गर्दा बर्डफ्लुको जोखिम कम हुन्छ ।
त्यस्तै मासु काटिसकेपछि साबुन पानीले राम्रोसँग हात धुने, मासु राखिएको भाडा, काट्नका लागि प्रयोग गरिएको भाडा तथा चक्कु, हसियाँ साबुन पानीले राम्रोसँग सफा गरेर सम्भव भएसम्म घाममा सुकाएर राख्नु उत्तम हुन्छ ।
त्यस्तै अन्डा प्रयोग गर्दा पकाएर वा हाफ मात्रै पकाएर खानु भन्दा उमालेर खानु अति उत्तम हुन्छ । डा. कार्कीका अनुसार अण्डाको पहेलो भागमा पनि बर्डफ्लुका भाइरस रहने हुनाले पहेलो भाग कडा हुने गरी पकाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । आधा उमालेको, पौचका रुपमा तयार गरिएको वा काँचै जुसमा मिसाएको नखानुनै राम्रो हुन्छ ।
कुखुराको मासु पकाएर खाँदा र अण्डा खाँदा यी कुरामा ध्यान दिनुभयो भने बर्डफ्लुको जोखिमबाट टाढा हुन सकिन्छ । साथै कुखुराको मासु मात्रै नभएर, बंगुर, खसी लगायतका अन्य मासु पकाउँदा पनि यी उपाहरुहरु अपनाउनु भयो भने माशुजन्य पर्दाथबाट सर्ने रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।
त्यस्तै डा. कार्कीका अनुसार बर्डफ्लुको जोखिम रहेका बेला कुखुरा मात्र नभएर कुखुराको सुलीमा पनि बर्डफ्लुका भाइरसको कणहरु रहेको हुन्छ । त्यसकारण कुखुराको सुली सागपातमा तथा माछा पोखरीमा राख्न पनि सावधानी अपनाउन जरुरी हुन्छ ।
खोरमा रहेका कुखुरा सबै नष्ट गरे पनि सुली तथा खोरमा पनि भाइरसका कणहरु सक्रिय रुपमै रहन्छन् । त्यसकारण त्यस्तो सुली प्रयोग गर्नुभन्दा पहिले सावधानी अपनाएर कम्पोष्ट मल बनाइ वा तापक्रम उपचार गरी मात्र कृषिजन्य उत्पादनका लागि मलको रुपमा प्रयोग गर्न पनि डा. कार्कीको सुझाव छ । यस विषयमा कुखुरापालक किसानहरु सचेत रहनु पर्दछ । यसो गर्नाले आफू, आफ्नो परिवार अनि समाजलाई बर्डफ्लुको संक्रमणबाट बचाउन सकिन्छ ।
कुखुरापालकले अपनाउनु पर्ने उपाय
हामीले सुली र खोरका विषयमा त माथि नै भनिसक्यौ तर, रोग लागेर व्यवसाय धरापमा पार्नु भन्दा पहिले रोग ननिम्त्याउनुनै बुद्धिमानी हुनेछ । त्यसका लागि कुखरा पालक किसानहरुले पोल्टी फार्ममा अपनाउनु पर्ने सुझावहरु यस्ता रहेका छन् ।
-आफ्नो फर्ममा रहेका कुखुरा हाँसहरुसँग जंगली पशुपंक्षी सम्पर्कमा आउन नदिने ।
-पोल्ट्रीजन्य बस्तु ओसार–पसार गर्ने सवारी साधन राम्रोसँग सफा गरेर औषधिको स्पे गरेपछि मात्र दाना, चल्ला र अन्य सामग्री ल्याउने ।
-विरामी कुखुरालाई अन्य कुखुराको नजिक नराख्ने । सकेसम्म त्यसलाई बाहिर राख्नु नै राम्रो हुन्छ ।
– बजारमा बेच्न लगिएका कुखुरा फेरि सोहि खोरमा ल्याएर नराख्ने ।
-खोरमा निस्कदा र पस्दा राम्रोसँग साबुन पानीले हात धुने ।
-मरेका हाँस, कुखुरा तथा सुली, प्वाँख आदि जथाभावि नफ्याक्ने ।
-कुखुरा, हाँस वा अन्य पंक्षीहरुमा आकस्मिक रोग देखापरेमा वा मरेको पाइएमा तुरुन्तै नजिको भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञलाई जानकारी गराउने ।
वि.सं.२०७६ वैशाख ३० सोमवार ०८:५३ मा प्रकाशित