मैले नपत्याएकी छोरीले
कल्पनै नगरेका प्रश्न सोधिन् केही थान
प्रश्न सोधिन् पनि के भन्नु र खै
पाँच किलोको घनले टाउँकैमा हानिन्
छोरीका प्रश्नहरूको आक्रमणबाट
यसरी थला परें कि म
अझै टाउको सोझिएको छैन !
बाबा ! बाबा !
पित्तल किन नक्कली हुँदैन ?
किन सुन मात्रै नक्कली हुन्छ ?
पहिलो प्रश्न यस्तो थियो !
अनि नि बाबा !
राप्रपा किन नक्कली हुँदैन ?
काङ्ग्रेस किन सँधै सक्कली हुन्छ ?
किन कम्युनिष्ट मात्रै नक्कली हुन्छन् ?
छोरीको यो दोश्रो प्रश्न थियो !
बाबा तपाई किन बोल्नु हुन्न ?
भन्नोस् न बाबा
फेल हुन किन पढ्नु पर्दैन ?
पास हुन मात्रै पढ्नु पर्ने किन ?
के नक्कली कम्युनिष्ट भनेको
फेल भएको विद्यार्थीजस्तै हो बाबा ?
छोरीको यो तेश्रो तथा अन्तिम घन थियो !
मेरो टाउको फन्फनी घुमिरह्यो
सवैभन्दा बढी
एउटै प्रश्नले गिदी हल्लायो
’किन कम्युनिष्ट मात्रै नक्कली हुन्छन् ?’
त्यो यही प्रश्न थियो !
छोरीले सोधिरहिन्
मैले मात्रै सुनिरहें
अहँ केही बोलिन
मात्र एति भनें –
तिम्रा प्रश्नको उत्तर भोलि दिन्छु !
फिटिक्कै निद्रा परेको छैन
उज्यालो हुनै लागिसक्यो
उत्तर तयार भएकै छैन
गृहकार्य नगरेको विद्यार्थीजस्तै
सायद भोलि विहान मैले
कान समातेर उठ बस गर्नु पर्ने छ !
दिमागमा त्यही कुरा घुमिरहेछ-
’किन काङ्ग्रेस नक्कली हुदैन ?
किन राप्रपा नक्कली हुदैन ?
र किन कम्युनिष्ट मात्रै नक्कली हुन्छन बाबा ?’
सुवर्ण चोक, भक्तपुर
वि.सं.२०७६ जेठ ६ सोमवार १३:५९ मा प्रकाशित




























