
२७ जेठ, काठमाण्डौं । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छन् ।
गत जेठ २१ गते राष्ट्रपति नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोट समेत जारी गरिएन । उनी नियमित उडानमार्फत् गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।
भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरि अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआपीको सम्मानका लागि अन्य उडान रोकिँदा सर्वसाधारणबाट आलोचना हुने गरेको छ ।
यसैगरी राष्ट्रपति भण्डारीले सडक जाम घटाउनका लागि शितल निवासमै कार्यक्रमको उद्घाटन गर्ने गरेकी छन् ।
त्रिभुवन विश्वविद्यालयद्धारा अयोजित दुईदिने अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आइतबारबाट सुरु भएको छ । आइतबार राष्ट्रपति कार्यालय शितल निवासमा उद्घाटन भएको उक्त सम्मेलन कुपन्डोलस्थित हिमालय होटलमा चलिरहेको छ । सम्मेलनको पहिलो दिन देश तथा विदेशका पाँच विज्ञले कार्यपत्र पेश गरेका थिए । सोमबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ २७ सोमवार ०७:१७ मा प्रकाशित






























