
१९ असार, लेगोस । नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन् ।
बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो । सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ ।
ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।
सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापरवाही तरिकाले ट्याङ्कर चलाएका थिए । त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उनले बताए ।
आगलागी हुनुभन्दा अगाडि कम्तीमा ४५ मिनेटसम्म स्थानीयवासीले पेट्रोलियम पदार्थ थापेका थिए । उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको थियो ।
मारिएका मध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन् ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले एक व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।
वि.सं.२०७६ असार १९ बिहीवार ११:२७ मा प्रकाशित