बिहान आँखा खुल्दा घाम डेरा भित्र छिरेको थियो । चिया पकाएर पिउने जाँगर चलेन । एक गिलास पानी पिएर चियापसल तिर हानिएँ । एक कप चिया अडर गरे । छेउको टेबुलमा दुई युवती चिया सँगै चुरोट पिउदै रहेछन् ।उनिहरुको हातमा चुरोट देखेर मेरो ध्यान त्यतै मोडियो ।चुरोट पिउदै उनीहरुले कुरा गर्दै थिए । चुरोट पिएँको देखेर उनीहरु प्रती मेरो नकारात्मक प्रभाव पर्यो । सोचे कुनै होटलमा काम गर्छन् होला ।चिया पसलकी दिदीले चिया ल्याइदिनु भयो । चिया सँगै मैले पनि चुरोट सल्काएँ ।उनिहरुको कुरा सुन्न थाले ।
पहिलो युवती : अब के गर्ने सोच छ तेरो । सधै रेष्टुरेन्टमा नाचेर मात्रै चल्छ जिन्दगी ।
दोस्रो युवती : चल्छ ! चलिराखेकै छ । दालभात खान पुगेकै छ ।
पहिलो युवती : दालभातले मात्रै हुन्छ ? दुख बिमार पर्दा गाह्रो हुन्न ?
दोस्रो युवती : गाह्रो अफ्ट्यारो त सधै छ नि यार ।सानै देखि नांच्न गाउँन रुचि । स्कुलको अभिभावक दिवसमा मेरो नांच देखेर माओवादीले उठाएर लगे । पछि उनिहरुको विचार राम्रो लाग्यो । ज्यान हत्केलामा राखेर सास्कृतिक आन्दोलनमा लागे । आज पहिले हामीले भन्ने गरेको बुर्जुवा नाच नाचेर पेट पालेकी छु।
पहिलो युवती : पाटी त छोडिस नि है ?
दोस्रो युवती : पाटी खुल्ला भए पछि आफ्नो व्यवस्था आफै गर्नु भनेर पाटिले नै पाखा लगायो अनि म त्यहाँ कहिल्यै जाने मन गरिन ।
दोस्रो युवती : अँ साची सौरभको घरको खवर के छ ?
पहिलो युवती : के हुनु यार सबै सकियो । तलाई थाहै छ सौरभ टुहुरो थियो । त्यति बेला पाटिले बेनि खटाएको थियो । बेनि आक्रमण गर्दा मारियो ।लास पनि भेटिएन । सायद कालीगण्डकीले बगायो । पछि पाटीले सहिदको सुचिमा राख्यो । धेरै समय सम्म आमालाई सौरभ सहिद भएको कुरा सुनाउन सकिन । पछि यौटा संस्थाले आमालाई अभिनन्दन गर्ने कुरा गर्यो । मैले लुकाएको सत्य नभनी सुकै पाइन । एक दिन दह्रो मन गरेर घर गएँ । आमालाई सबै कुरा बताए । छोरो फर्कने आसमा थिइन् आमा । मेरो कुरा सुने पछि रुन थालेकि आमा रोएरै मरिन । मैले उनको मन बुझाउनै सकिनँ । एक्लै छोड्न पनि सकिनँ । केहि ठिक होला भन्दा भन्दै आमा तीन महिना पनि बाँच्नु भएन। सौरभको सिन्दुर नलाएँ पनि युद्धमोर्चामा जनवादी बिबाह भएको तलाई थाहा नै छ । मेरो बिबाहमा शुभकामना मन्तव्य दिने कमरेडहरु अहिले बहालवाला मन्त्री छन् । आमाको मृत्यु पछि रेष्टुरेन्टमा नाचगान गरेर पेट पालेकी छु ।
उनीहरुका कुरा सुनेर । एकाएक आँखा भरिएर आयो । मैले कमरेड विपनालाई भुलिसकेको रहेछु ।
हो युद्ध मैदानमै हो सौरभ र विपनाको बिबाह भएको । सौरभ बहुमुखी प्रतिभाको धनी थियो । कलम र बन्धुक दुबै बोक्थ्यो। अझै पनि उस्ले लेखेका जनवादी गीतहरु म सँग सुरक्षती छन् ।
वि.सं.२०७६ भदौ २८ शनिवार १५:५७ मा प्रकाशित






























