मान्छेले भगवान जन्माउँथ्यो
जस्तो कि-
दशरथ र कौशिल्या मान्छे थिए
उनीहरूले जन्माए राम भगवान !
जस्तो कि-
वासुदेव र देवकी पनि मान्छे थिए
उनीहरूले जन्माए कृष्ण !
जस्तो कि-
यशोधरा र शुध्दोधन पनि मान्छे थिए
उनीहरूले पनि जन्माए गौतम वुध्द !उहिलै उहिलै यस्तो हुन्थ्यो
मान्छेले भगवान जन्माउँथे
भगवानले मान्छे जन्माउँथे
जस्तो कि-
रामका सन्तान
कृष्णका सन्तान
या वुध्दका सन्तान
ती कोही भगवान थिएनन्
केवल मान्छे थिए !
उहिले उहिले
भगवानले मान्छेसँग प्रेम गर्थे
अझ घरजम समेत गर्थे
जस्तो कि-
रामले सीतासँग
कृष्णले गोपिनीहरूसँग
यस्तै यस्तै !
उहिले उहिले
भगवानहरू
आजजस्तो
अदृश्य र आतङ्ककारी हुँदैनथे ।
उहिले उहिले यस्तो हुन्थ्यो
जस्तो कि –
हात्तीको टाउको मान्छेमा जोडिन्थ्यो
बोकाको टाउको पनि जोडिन्थ्यो
चराहरू बोल्थे
पशुहरू र बोट बिरुवा पनि बोल्थे
मान्छे ढुङ्गा भएर पनि जन्मन्थ्यो
जस्तो कि-
परस्त्री गमनको श्रापले
विष्णु भगवान शालिग्राम बनेका थिए !
उहिलै उहिलै
शून्यबाट सवै चिज बन्थ्यो
अझ एक जना मानिस चै हुँदा पनि
त्यसलाई गणितले शून्य मान्थ्यो
जस्तो कि –
श्रृष्टिको उषाकालमा
केवल शून्य थियो
तर एक जना पुरुष भने शून्यभित्रै थिए
ती ब्रम्हा भनिने मान्छेले
यो सारा ब्रम्हाण्ड बनाए !
उहिलै उहिले केही बनाउँन
शून्यबाटै संभव थियो !
उहिलै उहिलै
मान्छे बनाउँन
महिला र पुरुष चाँहिदैनथ्यो
बीर्य र डिम्व चाहिदैनथ्यो
पाठेघर र प्रसव वेदना चाहिदैनथ्यो
जस्तो कि-
ब्रम्हाले मुखबाट पनि मान्छे जन्माए
पाखुराबाट पनि जन्माए
जाङ्घबाट पनि जन्माए
र पैतालाबाट पनि मान्छे जन्माए !
आजको सताव्दिमा
विज्ञानले नगरेको चमत्कार
उहिलै उहिलै सजिलै हुन्थ्यो !
किन भने –
अहिले प्रश्न सोधेर हैरान पार्ने नास्तिक छन्
प्रमाण खोजेर हत्तु पार्ने दूर्जनहरू छन्
तथ्य खोजेर धौ धौ पार्ने जव्वरस्वाँठहरू छन्
उहिले उहिले
यस्ता कोही पनि थिएनन्
केवल जय जय गर्नेहरू थिए
त्यसैले उहिलै उहिले
असंभव असंभव कुरा पनि हुन्थ्यो !
२०७६|०५|२८
भक्तपुर
वि.सं.२०७६ भदौ २८ शनिवार १९:१३ मा प्रकाशित






























