back
CTIZAN AD

एउटै वडामा रु दुई करोडको आलु उत्पादन

वि.सं.२०७६ असोज ३ शुक्रवार

825 

shares

३ असोज, खोटाङ । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो ।

लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी (५०० पाथी) आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताए । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्”, उनले भने, “अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।”

खिदिमामा यसवर्ष साढे सात हजार क्विन्टलभन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । “आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा रु ४३ हजार ७५० भन्दा बढी आम्दानी गरेका छन्”, उनले भने, “पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु दुई लाख अनुदान उपलब्ध गराइएको थियो ।”

समुद्री सतहदेखि करीब दुई हजार फिट अग्लो भू–भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रु ४० मा खरीद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरीद गर्नेको लुछाचुडी नै चल्ने गरेको पाइएको छ ।

खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।

यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम थालेको थियो । देशमा सङ्घीयता लागूभएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

आलु उत्पादक किसानलाई सङ्गठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गतवर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १०० मुरी भन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताए ।

एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साँढे तीन किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरीद तथा बिक्री हुने गरेको छ । खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने किसानको दाबी छ ।

खिदिमलगायत माथिल्लो भेगमा आलुको पकेटक्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ”, उनले भने, “यसलाई व्यवस्थित र प्रवद्र्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।”

साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताए ।

पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरक÷फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ । हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।

वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवद्र्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबीजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । (रासस)

वि.सं.२०७६ असोज ३ शुक्रवार १०:२४ मा प्रकाशित

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...