५ असोज, काठमाण्डौं । गैरआबासिय नेपाली संघको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्बाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तरास्ट्रिय कार्यसमितिको उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।
सन् २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरि संस्थापक अध्यक्ष बनेका थापा , सन् २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष, सन् २०११–२०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५–२०१९ दुई कार्यकाल अन्तरास्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन् ।
नेपालीहरु भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको थियो ।
नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भुमिका खेल्दै गरेका छन् ।
अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरु रहे पनि भुकम्प र अन्य दैबी प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुट्ने गरेको छ ।
त्यस्तै विभिन्न जिल्लाहरुमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन् । गत भुकम्पपछि आफू कार्यरत सस्थाबाट भुकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।
बिगत दुई कार्यकाल कोषाध्यक्ष रहँदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भूकम्प राहतको कोष संकलन, नाकाबन्दीको राहत र बाढी तथा हुरी पीडितका लागि राहत संकलनको ब्यबस्थापन गरेका थापाको दोश्रो कार्यकाल मुलत लाप्राक बस्ती, भवन र शंखमुल गार्डेन निर्माणमा केन्द्रित रहे ।
एनआरएनएलाई संसारभरी रहेका सबै पेशा, ब्यवसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउछन् ।
उपाध्यक्षमा निर्बाचित भएपछि संस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने, बिशेषत खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्बाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउँछन् ।
समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने थापाको मुलघर कैलालीको टिकापुर हो भने उनी बिगत १३ बर्षदेखि अफ्रिकाको नाइजेरियामा बस्छन् ।
वि.सं.२०७६ असोज ५ आइतवार १४:५३ मा प्रकाशित

























