१५ मङ्सिर,इनरुवा । एक मुस्लिम गैरसरकारी संस्थाले सुनसरीका तीन गाविसका २८५ जनालाई चिसोबाट जोगिनका लागि न्यानो कपडा मङ्गलवार वितरण गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवा–७ मा रहेको हिदायत एजुकेसनल एन्ड वेलफेयर ट्रस्ट नेपालले जिल्लाका तीन गाविसका २८५ जना गरिब विपन्न, असहाय, अपाङ्ग, असक्त वृद्धवृद्धालाई चिसोबाट जोगिनका लागि न्यानो कपडा वितरण गरेको संस्थाका कार्यालय सचिव हजरत हुसेनले जानकारी दिनुभयो ।
सुनसरीको बबिया गाविसमा एक कार्यक्रमको आयोजना गरेर ट्रस्टको आयोजना र उम्मा वेलफेयर ट्रस्टको सहयोगमा बबिया, नरसिंह र सत्तैरझोरा गाविसका २८५ जनालाई कम्बल, सुइटर, च्यादरलगायतका कपडा वितरण गरेको हो ।
उक्त संस्थाले अरू ९ गाविसका एक हजार २५ घर परिवारलाई लुगा वितरण गर्ने लक्ष्य राखेको आयोजक संस्थाका कोषाध्यक्ष मौलाना अयुव खान नदवीले जानकारी दिनुभयो ।
यस संस्थाले नेपालमा गएको महाभुकम्पका बेलासमेत गोरखा लगायतका अन्य ठाउँका भुकम्प पीडितलाई लुगा तथा खाद्यान्न सामग्री वितरण गर्नुका साथै विभिन्न किसिमको सामाजिक कार्य गर्दै आएको छ । रासस
वि.सं.२०७३ मंसिर १५ बुधवार ०२:४० मा प्रकाशित