हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्यौं। पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो ।
केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला, केटाहरूले यसको स्वाद लिएको चाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता पर्दोरहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।
मेरी हजुरआमालाई चाहिँ परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्त्वले रगतको कमी हुन दिँदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला ।
अहिले चाहिँ धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हड्डी बलियो हुन्छ, रगतको कमी हुन दिँदैन’ भन्नेजस्ता झुटा विज्ञापनमा विश्वास गर्छन्
यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो रु यसमा कति पौष्टिक तत्त्व हुन्छ रु थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमानलाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि रु सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि रु
सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्न सक्छ रु
गुँदमा पाइने कार्वोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँंग घुल्दैन ।
हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान , भोजनलाई औषधि नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधि’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।
सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।
वि.सं.२०७६ कात्तिक २४ आइतवार ११:३८ मा प्रकाशित



























