गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयनको लागि सिफारिस पठाउनको लागि क्षेत्रीय संयोजकहरुलाई अनुरोध गरिएको छ । संघका महासचिव हेमराज शर्माका अनुसार क्षेत्रीय संयोजकहरुलाई नाम सिफारिस गरि पठाउन परिपत्र गरिएको छ ।
उनका अनुसार प्रस्तावित व्यक्तिहरुको व्यक्तिगत विवरण, अनुभव, विशेषज्ञता र उनीहरुले संघलाई पुर्याउन सक्ने योगदानको विवरण (२ पेजमा नबढाई) १८ नोभेम्बर २०१९ सम्म अनुरोध गरिएको छ।
७ जना महिलासहित २१ जना सदस्यहरु मनोनित हुने व्यवस्था रहेकोले सोही अनुपातमा महिलाहरुको नाम सिफारिस गर्नु पर्ने र क्षेत्रीय संयोजकहरुले राष्ट्रिय समन्वय परिषद्हरुसँग परामर्श गरी नाम सिफारिस गर्नु पर्नेछ। ‘अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयन सम्बन्धि नियमावली २०१९’ अनुसार सदस्यहरुको मनोनयन गरिने उनले जानकारी दिए।
गैरआवासीय नेपाली संघको विधानको दफा २२९१४० अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रही योगदान गर्न सक्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा मनोनित गर्ने प्रावधान रहेको छ।
वि.सं.२०७६ कात्तिक २४ आइतवार १५:३५ मा प्रकाशित




























