‘ए वावु ! हँ हँ हँ मलाई वाकल, छेकल के को हुन्छ एउटा खाट बनाईदेन नानी ! मेरो जिउ भुईमा सुतेर पटक्कै तातेन बाबु ! यो ओछ्यान पनि सार्है पातलो भएछ ! उधोबाट ठिहि पसेर कतिखेरै यो डँडाल्नु तातेन नानी !’ खुईया !
‘खोई खाट बनाईदिउ की ?औषधि किनिदिउ की ?विस्तरा पो किनिदिउ की ? खोई के के चाही गर्नुपर्ने हो त मैले ?जतिखेरै गन गन गन गन ! कहिबाट टुप्लुक्क आईपुग्यो बाबुको गनगन सुरुभै हाल्छ म त वाक्कै भै सकेँ बाबु ! ‘रिठ्ठे साईलोले उल्टै झपार्यो बाबुलाई ।
बाबुका हातगोडा सुनिएर सोलोडोलो थिए, अनुहार फुलेर आँखाहरू पुरिएका थिए ।
आज विहान पो थाहा पाएँ, बुडा सिद्धिएको दसदिन भै सकेछ,घरमा काजक्रिया धमाधम चल्दैरछ । म आँगनमा पुग्दा धमाधम रिट्ठेले बाबुको कृयामा दानगर्ने कुराहरूको सूची लेखाउदै थियो, एउटा पलंग, सिरकडस्ना, एकजोडी कमेज सुरूवाल,एउटा स्वीटर…. ?
कानमा अस्ति बाबुले रिठ्ठेमाथि विसाएको आसाले भरिएको जिर्ण आवाज र रिट्ठेले प्रत्युत्तरमा दिएको तुच्छ जवाफ गुन्जीएझैं लाग्यो, मनमनै भनेँ जिउदोहुँदा एउटा बाकलको खाटसम्म दिईनस् अहिले पलंग, तोशक, स्वीटर थुईया ! मरेपछि खाउ वावै केरा !
वि.सं.२०७६ मंसिर २१ शनिवार १०:०३ मा प्रकाशित






























