विश्वास नहुन पनि सक्छ
सँगै हिँड्नेहरूको
भरोसा नहुन पनि सक्छ
सँगै बौरनेहरूको
बाटो बिराउन पनि सक्छन्
परिवर्तनका ती बाहकहरू ।
अस्ति जस्तै लाग्छ,
थुप्रै रहरहरू बन्धकी राखेर
रोपेकी थिएँ यिनीहरूसँगै
गैह्री खेतमा सपनाको बिउ !
नभन्दै
आशाहरू सलवलाउँदै
झुपडीसम्म पुग्दा
सुन्तली, दावा र रामजनमहरू
खुसीले चिच्याएका थिए
‘आमा !
हाम्रो घरमा फूल फुल्यो !’
लागेको थियोे-
समयले गहिरो स्पर्श गरिरहेछ ।
एकाएक मध्यरातमा
सपनामाथि अतिक्रमण भयो
पटक-पटकको हमलाले
विचलित भए-जिन्दगीका सारा आस्था र सङ्कल्पहरू
बस्तीमा रोइरहेका आमाहरूले
एकै स्वरमा भने-
हिजोसम्म यिनको टाउकोमा
अरूका लागि ठाउँ थियो
हिजोसम्म यिनको मुटुमा
अरूका लागि स्नेह थियो
हिजोसम्म यिनको शरीरमा
आफ्नै रगत र पसिनाको रङ्ग थियो
जब विचलित भए यिनीहरू
तब सुकेर गयो
यिनको शरीरबाट रातारात
आँसु र बलिदानको रङ्ग !
वि.सं.२०७६ मंसिर २१ शनिवार १०:२७ मा प्रकाशित






























