back
CTIZAN AD

भ्रष्टाचारको राजनीतिकरण र राजनीतिको भ्रष्टिकरणको पीडा

वि.सं.२०७६ पुस २१ सोमवार

633 

shares

भ्रष्टाचारले राजनीतिक रंग लिन थाल्यो भने बुझे भयो भ्रष्टाचारको राजनीतिकरण र राजनीतिको भ्रष्टिकरण मात्र हुन पुग्यो । यस्तोमा जनता दिग्भ्रमित र संस्थाहरू किंकर्तव्यबिमूख हुन्छन् । त्यसपछि कुनै संस्थाले त्यहाँ हात घुसारेर ईमान्दारीका साथ छानबिन तहकीकात काम गर्ने आँट गर्न गाह्रो हुन्छ, किनभने त्यो काम गर्दा उसउपर पनि बेफ्वाँकमा राजनीतिक रंग र राजनीतिकरण हुन थाल्छ । मूल मुद्दा ओझेल पर्छ र जनता के रोग लाग्यो भन्दै जिल्ल पर्छन् !

जनताको सेवा सुविधा र खुशीयालीमा जुन प्रणालीले राम्रो गर्छ वा गरेको छ वा गर्यो त्यही राजनीतिक व्यवस्था र प्रणाली राम्रो हो । कुनै प्रणालीको मूल्यांकनको कसी पनि यही हो । राजनीतिक कुनै ब्राण्डको औचित्य छैन । जनताले थप सुख सुबिधा पाए कि पाएनन् त्यही सही कसी हो । हामीले धेरै राजनीतिक व्यवस्था भोग्यौं, धेरै संविधान बनायौं, धेरै संविधान च्यात्यौं र फेरि फेरि बनाएका छौं । यो कान्छो संविधान पनि अहिले चुनावपछि देखिएको घोर अलोकतान्त्रिक संस्कार बोकेका सत्तालोलुप दलीय नेताहरू र निरन्तर गैरजिम्मेवार तथा अक्षम हुदै गएका संवैधानिक अंगका कारण धेरै समय टिक्ने म देख्दिन । लोकतन्त्र चाँडै डिरेल हुदैछ र त्यसका योजनाकार र निमित्त नायक लोकतन्त्रका ब्राण्ड भिरेका सामन्ति संस्कारयुक्त दल र नेताहरूबाट हुने निश्चित छ, जसरी विगतमा पटक-पटक तिनबाट विभिन्न हथकण्डा अपनाएर दुर्घटना गराउदै आएको प्रमाणित भएको छ । स्थिरता र विकास संविधानको मर्म अनुरूप शासन हुदा मात्र हुन्छ, कानुनची संस्कार घातक हुन्छ । मुलुकको राजनीतिक भविष्य अन्धकारमय हुने देखिरहेको बेलामा बुद्धिजीवीहरू अघि बढेर राजनीतिलाई ट्र्याकमा ल्याउन हिच्किचाउनु हुदैन । राजनीतिक दलहरूकै भरमा राजनीति हिडाउनु अहिले खतरनाक हुन्छ । नेपालमा नेताहरूको अभिष्ट जहिले पनि सत्तामा कसरी टास्सिरहने भन्ने रहदै हुदै आएको छ ।

राजनीतिकृत भ्रष्टाचार जस्तो जटिल बिषयमा अनुसंधान छानबीन गर्ने कुरा केटौली बुद्धिले संभव हुदैन, भ्याउदैन । नेपालको सांसद र संसद यसका बिज्ञ हुने भएका भए नेपाल उहिले देखि विश्वको स्वच्छ नं १ देश बनेर सिंगापुर, डेनमार्क, स्विट्जरल्याण्ड वा फिनल्याण्डलाई पछारिसकेको हुने थियो ।

जनताको प्रतिनिधित्व गर्ने सर्बोच्च संसद जस्तो थलोमा यता आएर झन् झन् केटौली खेँलाची पारा देखिनु मुलुकको कुनै पनि राज्य संयन्त्रमा जनताको कुनै विश्वास छैन भन्ने लक्षण मात्र हो । जनस्तरमा होहल्लाकै भरमा राष्ट्रसेवकमाथि कार्यकक्षमैं कालोमोसो दलिनु झन् अराजकता हो, राज्यमाथि थप्पड हो । तत्काल सरकार सक्रिय भएर त्यस्त कुतत्वलाई नियन्त्रणमा लिन नसकी लाचार हुनु, यस्ता घटनाहरू भएको हप्तौंसम्म पनि सरकार रमिते बनेर चुप रहनु महानिरीहपना र निकम्मापन हो, सरकारबिहिनताको जंगली राज हो । यस्ता राज्यको गालामा हानिने सबै घटनाको साईड ईफेक्टको पीडा अन्तत ः जनताले नै पाइरहेका हुन्छन् । दुःख पाउने सर्वसाधारण नै हुन पुग्छन् । कसैप्रतिको दिवेषका कारण अहिले रमिता माने पनि त्यो मूतको न्यानो मात्र हुने गर्छ । युगान्तकारी भनिएको संघीय शासन आईसक्दा पनि सुसभ्य, स्वच्छ समाज निर्माणमा नेपालीजन विफल हुदै गएको कडा संकेत देखिदै छ ।

त्यस्तै, अन्तरराष्ट्रिय खरिद वा लगानी वा अन्य व्यापारिक सम्झौता बिना बिचौलिया हुन संभव हुदैन । पुँजिबादी मुलुकमा ब्यापार गर्ने निकायहरूका आफैले तोकेका रजिस्टर्ड कमिशन एजेन्ट हुन्छन् । कुनै ब्यापार सम्झौता सम्पन्न हुनासाथ तिनले बैध कमिशन रकम पाउछन् । कतिपय देशमा सोल एजेन्ट राखिएको हुन्छ । क्रेता र विक्रेताबीचको लमीको काम गर्ने ती कानुनी बिचौलियाको आम्दानीमा पनि सरकारको कर लाग्छ, शेयर बाँडफाँड हुन्छ । कमिशन एजेन्ट बिना कुनै काम फत्ते गर्न संभव नै हुदैन, ती रियलस्टेट एजेन्सी सरह नै हुन् ।
नेपालसंग हुने बिदेशीव्यापार वा लगानीमा पनि कमिशन एजेन्ट रहेकै हुन्छन्, तिनले कमिशन लिएकै हुन्छन् । तर बिचरा सर्वसाधारण नेपालीहरूलाई बिश्वमा बजार कसरी संचालन हुन्छन् कुनै कखग थाहा भएको हुन्न, ती कमिशनको होहल्ला सुन्नासाथ बुझो न सुझो सुरूवाल सारेर सडकमा उफ्रन मात्र तम्सन्छन् ।

राष्ट्रसेवकलाई भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्ने र मुद्दा दायर तथा मुद्दा तहकिकात गर्ने, चलाउने एक मात्र संबैधानिक निकाय अख्तियार मात्र हो । दोषी निर्दोष ठहरको मुद्दा फैसला गर्ने एकमात्र निकाय अदालत मात्र हो । यसबारे अरू चाहे जसले जे होहल्ला गरून् लेखासमिति, संसद होस् कि जाँचबुझ आयोग, तिनका त यसबारेमा केवल फगत चिच्याहट मात्र हो । जबसम्म यसमा अख्तियारले आफ्नो हात पसाल्दैन, चिच्याहटको तरंग टंगालको अदुअआको कानमा नछिरे सम्म तिनका चिच्याहट र ठस् ठस् कन्याई र होहल्ला मच्चाउन अर्थहीन हुन्छ । विधायकले बनाएको विधि र संवैधानिक शासन प्रकृया यही हो । अरू कुरा अराजकता, उच्छृखंलता र राजनीतिक खपत र दाउपेच मात्र हुन् ।

काशी जानू कुतिको बाटो हो !

तपाई कसको कोखबाट जन्मिनु हुन्छ त्यो तपाईको हातमा हुदैन । तर, जन्मेर बढ्दै बुझ्दै जादा तपाईका बाआमा, बाजेबज्यै, दाजुभाइ दिदीबहिनी वा नातागोताहरू भ्रष्ट, ब्यभिचारी, जनतापिराहा हुन् भन्ने जानेपछि तपाईलाई आफूप्रति कति धिक्कार लाग्छ भन्ने नबुझ्ने कोही हुदैनन् ।

तर राजनीतिमा आफूले समर्थन गरेको दल र ठूला नेताहरू कति भ्रष्ट, कति जनतापिराहा, कति व्यभिचारी, कति मुलुकमारा हो थाहा पाउदापाउदै पनि अलिकति मन नरुने , नसुध्रने र सुधार्न प्रयास नगरी अझै पक्षपोषण र फट्याईगिरी गर्दै धापमार्ने मान्छेहरूको सन्तानले अझै कति थप पीडा भोग्नुपर्ने होला भन्न सकिदैन ! राजनीतिक सम्बद्धतामा कोख फेर्न मिल्ने सहुलियत हुदाहुँदै पनि कठै तिनको कर्म देख्दा दया र टीठ लागेर आउछ !

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

भइसकेको ठेक्का ब्यवस्थापनमा कानुन संसोधनले असर पार्दैन

 

वि.सं.२०७६ पुस २१ सोमवार १०:१२ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...