२४ पुष, काठमाण्डौं । गैरआवासीय नेपाली संघको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका पूर्वउपाध्यक्ष कुल आचार्यले एनआरएनएमा आर्थिक प्रतिवेदन पास नभएको भन्दै विशेष अधिबेशनको माग गरेका छन् ।
निर्वाचन सकिएको एकमहिनामै निर्वाचनप्रति असन्तुष्टि व्यक्त गरेका आचार्यले बुधबार बेलायतमा रहेका पत्रकारहरुसँग कुरा गर्दै चुनावका बेला आर्थिक प्रतिवेदन पास नभएको भन्दै प्रतिवेदन पास गर्न विशेष अधिबेशनको माग गरेका हुन् ।
उनले एनआरएनए नेतृत्वसँग प्रश्न गर्दै भनेका छन् ‘आर्थिक प्रतिवेदन पास नगरी हामीले आर्थिक कारोबार गर्न पाउने कि नपाउने ?’ आचार्यले यसलाई संसारभरीका नेपालीको प्रश्न रहेको समेत बताएका छन् ।
आचार्यले एनआरएनएको विशेष अधिबेशन गरेर यी कुराहरुलाई सम्बोधन गर्न माग गरेका हुन् । उनले अपारदर्शीरुपमा भइरहेका कार्यहरुको पूर्णरुपमा निक्र्यौल गरेर संसारभरीका नेपालीहरुले चाहेको जस्तो संस्था बनाइयोस् भन्ने माग समेत गरेका छन् ।
उनले आफूलाई सहयोग गरेकै नाउँमा संस्थामा लामो समय योगदान पुर्याएका एनआरएनएहरु संस्थाबाट बन्चित हुनुपरेको गुनासो समेत गरेका छन् ।
आचार्यले चुनावमा हुनुपर्ने पारदर्शिता, निर्वाचन कमिटीले खेल्नुपर्ने भूमिका तथा सचिवालयले खेल्नुपर्ने भूमिकामा सुधार होस् भन्ने आफ्नो सकारात्मक चाहना रहेको बताउँदै संस्था संस्थागत रुपमा विकास होस् भन्ने चाहेको समेत बताएका छन् ।
आचार्यले संघको आर्थिक प्रतिवेदन राम्रोसँग पास नभएको तथा सामाजिक प्रतिवेदनमा पनि छलफल हुन बाँकीरहेको बताउँदै अगाडि बढाउने कार्यमा सोच्नुपर्ने अवस्था आएको बताएका छन् ।
त्यस्तै आचार्यले संघमा भएका पछिल्ला नियुक्तिहरुका विषयमा पनि कुरा उठाएका छन् । उनले एकलौटीरुपमा नियुक्ति भएको भन्ने जनगुनासा आएको बताउँदै भनेका छन्, ‘यदि म पनि अध्यक्ष भएको भए, तिनै व्यक्तिहरुलाई नियुक्ति गर्थे होला, तर कतै कतै हामीले लामो समय काम गरेको आधारमा कतै कतै सहकार्य अथवा सोधिएको भएपनि सधै पोजेटिभरुपमा हेदै आएको संस्थालाई अझै पोजेटिभ रुपमा सहयोग गर्न तयारै छु ।’ उनले यहि कारण नै कतिपय कुरामा आफू हारेर संस्थालाई जिताएको समेत बताएका छन् ।
उनले एउटा गुटले भोट हालेको आधारमा संस्थालाई अगाडि बढाउँदा के हुन्छ भन्ने चिन्ता संसारभरीका गैरआवासीय नेपालीमा रहेको समेत बताएका छन् ।
उनले अध्यक्ष कुमार पन्तले ल्याएको अनलाइन भोटिङ सिस्टमलगायतका नयाँ योजनाको स्वागत गर्दै यी योजनाहरु सबैका योजना हुन् भन्ने रुपमा सबैले लिनुपर्ने बताउँदै ती योजनामा कार्यसमिति सफल होस् भन्दै आफ्नो सहयोग रहने समेत बताएका छन् ।
उनले गैरआवासीय नेपाली नागरिकताका विषयमा संविधानमा व्यवस्था भएपनि कानुनमा ढिलाई भएको बताउँदै यदि नागरिकता दिने क्रममा तीनपुस्ताको लागि मात्रै कानुनमा व्यवस्था भयो भने त्यो दुर्भाग्यपूर्ण हुने समेत बताएका छन् । ‘तीनपुस्ताले मात्रै हाम्रा भावि सन्ततिलाई नेपालसँग जोड्न सक्तैनौ र आर्थिकरुपमा नेपाललाई जोड्न सक्तैनौ भन्ने कुरामा ख्याल गरिनुपर्दछ ।’
वि.सं.२०७६ पुस २४ बिहीवार १२:४७ मा प्रकाशित






























