प्रविधि प्रणाली गुणस्तरहिन भयो भने मानिस नयाँ नयाँ प्राविधिक प्रणालीमा विश्वास गर्दैनन् र यसले नयाँ चुस्त स्मार्ट प्रणाली स्थापित हुन बाधा दिन्छ । नयाँ प्रविधि प्रयोग नगरी सेवा सुविधा गुणस्तरीय र तिब्र स्मार्ट हुन सक्दैन । यही माकुरी जालमा नेपालको शासन प्रशासन फस्दै आएको छ ।
सरकारका वेबसाईटहरूको बिजोग छ, सोसल मिडियामा कोही अघि सर्दैनन् । मिडियाहरू आआफ्ना स्वार्थ वा आग्रह पूर्वाग्रहमा लेख्छन्, बोल्छन् ।
सरकारको अनलाईन पोर्टलहरू अलिकति लोड पर्यो कि थचक्कै बस्छन् । त्यसको प्रत्यक्ष गुनासो गर्ने वा सुन्ने माईबाप कोही हुदैनन्, त्यस्तो बेलामा सबैजसो सरकारी कथित जिम्मेवार गैरजिम्मेवारहरू दुला पस्छन् ।
फोन उठ्दैन, उठेपनि जवाफ पाईदैन । हाकिम नै मेचमा हुदैनन्, मोबाईल नम्बर लुकाउछन्, ईमेल हेर्दैनन् । टेक्स्ट मेसेज पठायो जवाफ दिदैनन् ।
भेट्न गयो छिर्नै दिदैनन्, छिरे पनि अर्को कोठातिर जाउ भन्छन् । सुचना अधिकारी र प्रवक्ता नामका अफिसरहरू जन्तु जस्ता छन्, केही सूचना नै तिनलाई हुदैन, भए पनि लुकाउदामा आनन्द लिन्छन् । त्यसमाथि आफूलाई महाराज ठान्ने हाकिमहरू छन्, फ्रन्ट डेस्क सधै खाली हुन्छ ।
डेटाबेस छिनमैं ह्याक हुन्छन्, मर्मत गर्ने ल्याकत सरकारभित्रको संयन्त्रमा हुदैन, टिप्पणी लेखेर शासन गर्नमै मोज छ । सबै बिस्तारै हुन्छ, हुदैछ, पहिलेका सरकारहरूले के नै लछारपटार लगाएका थिए र ? भन्ने उही पूराना अनुहारका नयाँ सरकारका पात्रहरू आफ्नै मुखमा थुकेको पत्तो पाउन्नन् ।
बिजुली वा टेलिफोनको भर पर्यो भने सात गाउँ बाढीले डुबिसकेको हुन्छ ।
सरकारको कुनै पनि बाचा र आह्वान गधाले पनि सुन्दैनन्, मूसोले पनि पत्याउन्न ।
त्यसमाथि घुसैघूस शासन प्रशासन मशिनरीको लुब्रिकेन्ट बनेको छ ।
उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्
वि.सं.२०७६ पुस २५ शुक्रवार १४:१४ मा प्रकाशित






























