२९ पुष, पोर्चुगल । पोर्चुगलमा रहेका धादिङका दुई भाइको दुर्घटनामा परेर एकैदिन मृत्यु भएको छ ।
पोर्चुगलको काइस्काइसमा रहेको समुद्रमा आइतबार माछा मार्ने क्रममा धादिङ घर भइ हाल वाराको सिमरा निवासी 51 वर्षीय कमल वाइवा र उनका भाइ 34 वर्षीय सुरज वाइवाको छालले बगाउँदा मृत्यु भएको बताइएको छ ।
डेनमार्कबाट ८ महिना अघिमात्र पोर्चुगलमा पुगेर रेष्टुरेण्ट व्यवसाय गरिरहेका उनीहरुसँग माछा मार्ने लाइसेन्स पनि भएको र माछा मार्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छ ।
उनीहरुको कसरी दुर्घटना भयो भन्ने सम्बन्धमा एक भाइलाई छालले बगाएको र अर्को बचाउन जाँदा यस्तो घटना घटेको अनुमान पोर्चुगलका नेपालीले गरेका छन् ।
काइस्काइको बोका दि इन्फेर्नोमा (जसलाई पोर्चुगलका नागरिकहरुले नर्कको मुख भन्ने गर्छन) माछा मारिरहेका उनीहरुलाई छालले बगाएको थियो । उनीहरुलाई छालले बगाएको डेढ घण्टामै प्रहरीले उद्धार गर्न सफल भएपनि उनीहरुको मृत्यु भइसकेको थियो ।
उनीहरुको परिवारसँग सम्पर्क नभइसकेको र तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङसँग सल्लाह भइरहेको पनि एनआरएनए पोर्चुगलका आइसीसी सदस्य नारायणकाजी मगरले संसारन्युजलाई बताएका छन् ।
‘उहाँहरुको दुखद मृत्युले हामी सबैलाई पीडा भएको छ । हामी सल्लाह गरिरहेका छौं, परिवारसँग सम्पर्क गर्ने र उहाँहरुको शब व्यवस्थापन के–के कसरी गर्ने भन्ने सम्बन्धमा ।’ मगरले भने ।
उनीहरु दुवैजनाको शब काइस्काइसको अस्पतालमै रहेको पनि मगरले बताएका छन् ।
वि.सं.२०७६ पुस २८ सोमवार १७:१९ मा प्रकाशित






























