जब अमेरिकाले कतै ज्यादती गर्छ एमआइटीका प्राध्यापक नोम चोमस्की अग्रपंक्तिमा अमेरिकाको विरोध गर्न अग्रसर हुन्छन् । भियतनाम युद्धदेखि अहिलेसम्म नोमचोमस्कीले अमेरिकाको साम्राज्यवादी नीतिको विरोध गर्दै आएका छन् । भारतमा जब नोटबन्दी भयो नोबेल अर्थशास्त्री हारभर्डका प्राध्यापक अमर्त्य सेन भारत सरकारको आर्थिक नीतिको कडा आलोचक भएर मुखरित हुन्छन् । भारतमै जीएसटी लागु भएपछि एमआइटीका प्राध्यापक यसपालाका नोबेल अर्थशास्त्री अभीजित बनर्जी भारत सरकारको आलोचनामा ओर्लन्छन् । मोदी र उनका अनुयायीहरू हारभर्ड होइन हार्डवर्कको वकालत गर्छन्, देशबाट पलायन भएका भगौडाको ट्याग भिराउँछन् । बुद्धिजीवीहरूलाई वदनाम गराउने प्रोपगन्डा चलाउँछन् ।
हालै जनवरी ५, २०२० मा भारतको राजधानी नयाँ दिल्ली स्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा मुकुन्डो भिरेका हतियारधारी गुन्डा जमातले जेएनयूका विद्यार्थीहरूमाथि सांघातिक हमला गर्यो । हमलामा जेएनयूका धेरै विद्यार्थीहरू घाइते भएर अस्पताल भर्ना भए । यसको भारतभरि मात्र नभएर विश्वका धेरै विश्वविद्यालयहरूमा विरोध भइरहेको छ । नेपालमा पनि माइतीघर मण्डलामा विरोधमा सभा आयोजना गरिएको थियो । जेएनयूमा वर्तमान उपकुलपति जगदेश कुमार आएदेखि समस्याहरू बढिरहेका छन् र जनवरी ५ को घटनाले पराकाष्ठा नाध्यो । जेएनयूको स्वायतता रक्षाका लागि विद्यार्थीहरू लडिरहेका छन् उनीहरूलाई सहयोग गर्न विश्वविद्यालयको गरिमा बचाउन जेएनयूका धेरै प्राध्यापकहरू संगै दुई जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्राध्यापकहरू विद्यार्थीहरूको समर्थनमा उपकुलपतिको विरोधमा सतीसाल झैं उभिए ।
पहिलो हुन अन्तर्राष्ट्रिय ख्यातिका प्राध्यापक प्रभात पटनायक जसले सन १९६९–७४ सम्म बेलायतको क्याब्रिज विश्वविद्यालयमा प्राध्यापन गरे देशमै अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनेको र भारतको विशेष अनुरोधमा सन १९७४ मा जेएनयू ज्वाइन गरे र सन २०१० सम्म अवकाश नभएसम्म जेएनयूमा प्राध्यापन गरिरहे । अर्की हुन जेनयूबाट स्नातकोत्तर र एमफिल पूरागरी बेलायतको क्याब्रिज विश्वविद्यालयबाट पीएचडी सकेर त्यहीँ केही समय प्राध्यापन गरेकी पछि जेएनयू ज्वाइन गरिन र अहिलेसम्म आर्थिक अध्ययन केन्द्र र योजना विभागकी अध्यक्ष प्राध्यापक जयती घोष । ७४ वर्षका पटनायक र ६४ वर्षकी घोष जेएनयू बचाउन सक्रिय रूपका सडकमा आएका छन् । अफसोच हाम्रो देशका पूर्व उपकुलपति नै आफ्नै विश्वविद्यालयलाई बचाउनुको साटो चिहान भनेर अलाप गर्न थालेका छन् ।
वि.सं.२०७६ पुस २८ सोमवार १७:४६ मा प्रकाशित





























