back
CTIZAN AD

घिउ, चाकु र तरुलसँग लक्ष्मण थापाका कविता

वि.सं.२०७६ माघ २ बिहीवार

786 

shares

२ माघ, पोखरा ।

मेरो एक मुठ्ठीको मुटुलाई
मुठ्ठीमा बोकेर
कहिले तारेभिरको उकालो चढिरहेँ
कहिले ओरालो झरिरहेँ ।
………..
मेरो मुटु
मेरो देशको माटोले बनेको छ ।

आफ्नो मुटुलाई माटोसँग जोडेर लेखिएको ‘मुटु’ शीर्षकको कविताका पङ्क्तिहरू सुनाउँदै उनी अगाडि बढे । मञ्चमा रहेको एउटा मात्र कुर्सी खाली छ । कविको आवाज सुनिन्छ तर कवि अगाडि देखिँदैनन् । माघे सङ्क्रान्तिको परिकार घिउ, चाकु र तरुल खाएर कार्यक्रम हलमा प्रवेश गरेका दर्शक तथा स्रोता एक छिन अलमलमा परे ।

पुछारसिटबाट उठेर कविता सुनाउँदै अगाडि पुगेका उनलार्ई मञ्चनिर पुग्नै लाग्दा साहित्यकार सरूभक्तले छेके । ढाकाटोपीमा सजिएका उनलाई हातमा रहेको सयपत्रीको माला लगाइदिएर सरूभक्तले बधाई दिँदै मञ्चमा बसाए । उनी मञ्चमा बस्नासाथ कार्यक्रम सञ्चालकले उनको परिचयका लागि साहित्यकार दीपक समीपलाई जिम्मा लगाए । रोचक पारामा परिचय दिएर कविता प्रस्तुतिका लागि उनले कविलाई आग्रह गरे । मञ्चमा बस्नासाथ केही भावुक बनेका उनले प्रारम्भमा उपस्थित दर्शकहरूलाई धन्यवाद दिए । करिब दुई दशक अनवरत साहित्यिक गतिविधिमा सक्रिय रहेका उनले त्यसपछि कविता सुनाउन थाले ।

यो दृश्य हो ‘पुछारसिटे अभियान’ले आयोजना गरेको ‘एकल कविता वाचन’को । ‘घिउ, चाकु र तरुलसँग कविता’ नाम दिइएको कार्यक्रममा प्रस्तुत भएका थिए कवि ‘लक्ष्मण थापा’ । संस्थाले एकल वाचनको पाँचौँ शृङ्खलामा कवि थापालाई उभ्याएको हो । कार्यक्रममा उभिएका कवि थापाले माटोका कविता मात्र सुनाएनन्, प्रेमको रस घोलेका कवितासमेत प्रस्तुत गरे :

ओ, मेरो युगकी अन्तिम राधिका !

म तिम्रो ओठको चास्नीमा डुबाउन चाहन्छु
प्रेमको सबैभन्दा पुरानो धून ।

घरिघरि यसरी प्रेमिल बनेका उनी अधिकांशतः मानव जीवनका उहापोहलाई आफ्ना कवितामा विषयका रूपमा समेट्थे । उनी वर्तमान नेतृत्वले इतिहासबाट हाम्रो गौरवगाथालाई स्वात्तै मेटाइदिएकोमा यसरी रोश प्रकट गर्छन् ।

हाम्रा छातीहरू कहिल्यै फराकिला हुन सकेनन्
हाम्रा तिघ्राहरू कहिल्यै दह्रा हुन सकेनन्
त्यसैले बाँसका टुप्पा झैँ निहुरिरहन्छन् हाम्रा स्वाभिमानहरू ।

वर्तमान पुस्ताका नेपालीहरूको घट्दो उचाइलाई कविले यसरी प्रस्तुत गरिरहँदा उनमा भूपी शेरचनको शैली प्रष्ट झल्किन्थ्यो । बीचबीचमा आफूमा अग्रज कविहरूको प्रभाव प्रष्ट भेटिने बताउँदै त्यसको स्पष्टीकरण दिँदा माहोल झनै रोचक बन्थ्यो ।माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा दुई दशकभन्दा लामो समय बिताएका उनी कुशल व्यवस्थापकका रूपमा चिनिन्छन् । हजारौँ विद्यार्थीलाई ज्ञानको उज्यालो मार्गमा हिँडाएका यी कवि घरिघरि आफ्नो कलेज जीवनका फर्कन्छन् र ऊबेलाको पोस्टकार्ड युग सम्झँदै नोस्टाल्जिक बन्छन् :

रात रातभर नसुती नसुती बनाएका
शुभकामनाका रङ्गीन कार्डहरू
तिमीले कतै पट्याएर
पुरानो पुस्तकमा राखेकी छ्यौ कि ?

थुप्रै बिम्ब र प्रतीकहरूमा कविताका हरफलाई बुन्ने उनी कतै अत्यन्त सरल कविका रूपमा प्रस्तुत हुन्थे त कतै बिम्बको बोझले अलि क्लिष्ट लाग्थे ।

राग मेघमल्हारको सूरवर्षासँगै
बादल नाच्दछ पहाडका थुम्काथुम्कामा
चुम्दै बुकीफूलका बोटहरू
र चिप्लेटी खेल्छ
चम्किलो कपोलको बुई चढेर ।

साहित्य सिर्जना मात्र होइन उनी साहित्यिक पत्रकारितामा पनि उत्तिकै सक्रिय छन् । ‘सिउँडी’ नामक साहित्यिक पत्रिकाको सम्पादकका रूपमा थापाले लामो समय खर्चेका छन् । गजल, मुक्तक, कविता, कथा मा निरन्तर उनको कलम चलिरहेको छ । उनका ‘मनको मूच्र्छना’ र ‘पलापला’ दुई गजल सङ्ग्रह र ‘पर्खालबाहिर’ नामक मुक्तक सङ्ग्रह प्रकाशित भइसकेका छन् भने कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छ । शिक्षा, समाजसेवा र साहित्यिक जीवनका विविध कुइँनेटालाई कविताका बीचबीचमा प्रस्तुत गरेका उनले कुल १४ वटा कविता प्रस्तुत गरे । उनका एक एक थान कविता वाचन गरेर कविद्वय सरस्वती श्रेष्ठ ‘सरू’ र अमृत सुवेदीले साथ दिएका थिए । देशप्रेम, सामाजिक विकृति, विद्रोह, मानवीय प्रेम र मानवतालाई कवितामा बुनेका उनका कविताका बारेमा साहित्यकार सरूभक्तले छोटो टिप्पणी गर्दै थापाको साहित्यसाधनाको प्रशंसा गरेका थिए ।

व्यस्त जीवनको अति व्यस्त समय साहित्यलाई दिएर थापाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको बताउँदै सरूभक्तले साहित्यिक यात्राको सफलताको कामना गरे । सो कार्यक्रमको सञ्चालन कवि अल्पज्ञानीले गरेका थिए । संस्थाले असार पन्ध्रमा ‘दही चिउरासँग कविता’ र माघ १ गते ‘घिउ, चाकु र तरुलसँग कविता’ नाम दिएर वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ । साहित्य, शिक्षा र होमस्टे प्रबर्धनका क्षेत्रमा अग्रसर संस्थाले संस्कृतिसँग साहित्यलाई जोड्ने जमर्कोका साथ यस प्रकारको कार्यक्रम आयोजना गर्दै आइरहेको संस्थाका अभियन्ता सुरज उपाध्यायले बताए ।

वि.सं.२०७६ माघ २ बिहीवार १०:११ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...