back
CTIZAN AD

छ बुँदे टोक्यो घोषणापत्र सहित अनेसासको च्याप्टर सम्मेलन सम्पन्न

वि.सं.२०७६ माघ ६ सोमवार

648 

shares

६ माघ, टोक्यो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरूलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ ।

संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिनसम्म चलेको सम्मेलनले पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाको नेतृत्वमा छ बुँदे घोषणापत्र जारी गर्दै आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
टोकियोको सिन्जुकुमा सम्पन्न भएको अनेसास च्याप्टर सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरूलाई पनि निकास दिइएको छ । सम्मेलनमा नौ देशका १७ च्याप्टरका प्रतिनिधि र नेपालका चर्चित साहित्यकारहरूको उपस्थिति थियो ।

केन्द्रीय कार्यसमितिको आयोजना र जापान च्याप्टरको संयोजन र व्यवस्थापनमा भएको उक्त सम्मेलनको संयोजक जापान च्याप्टरका पूर्व अध्यक्ष दीप पाठक थिए । पाठकको नेतृत्वमा रहेको जापान च्याप्टर (२०१७(२०१९) लाई संसारभरिका च्याप्टरहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गरेबापत विशिष्ट च्याप्टर पुरस्कार प्रदान गरिएको थियो । जापान च्याप्टरले प्राप्त गरेको उक्त पुरस्कार प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले प्रदान गरेकी थिइन् ।

कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष एवं व्यवसायी भवन भट्टले सम्बोधन गर्दै प्रवासमा बढ्दै गएको साहित्य चेतलाई अनेसासले सङ्गठित गरेकोमा हर्ष प्रकट गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ आइसीसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जापानमा रहेका नेपालीहरूको साहित्यप्रतिको लगावले आफू प्रभावित भएको बताए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत राणाले विदेशी भूमीमा नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा अनेसासले गरेको योगदानको खुलेर प्रशंसा गर्दै यस कार्यमा दूतावास परिवार सहकार्य गर्न तयार रहेको कुरा बताएकी थिइन् ।

यसैगरी संस्थापक अध्यक्ष होमनाथ सुवेदी र बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाएको शुभकामना मन्तव्य महासचिव गणेश घिमिरेले वाचन गरेका थिए । दीप पाठकको स्वागत मन्तव्य रहेको सो उद्घाटन सत्रमा अनेसास जापानका पूर्व अध्यक्षहरू डा. कुमार बस्नेत, बेलुकाजी थापा र विष्णुप्रसाद घिमिरे, दिनेशराज ज्ञवाली, गैरआवासीय नेपाली सङ्घ जापान अध्यक्ष देवीलाल भण्डारी, आइसीसी एसिया युवा संयोजक दीपक कँडेलले पनि बोलेका थिए ।
यसअघि वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले जापानमा आयोजित च्याप्टर सम्मेलनको उद्देश्य र विषयमाथि प्रकाश पारेका थिए ।

दुईदिन चलेको उक्त कार्यक्रमको प्रमुख आकर्षण त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्यालको कार्यपत्र र ५० भन्दा बढी कविहरूको कविता वाचन थियो । पौड्यालले प्रस्तुत गरेको कार्यपत्रलाई नेपाली भाषामा स्नातकोत्तर गरेका जापानी नागरिक हारुहितो नोजु र पत्रकार भूषण घिमिरेले टिप्पणी गरेका थिए । कार्यपत्र सेसनको सञ्चालन केन्द्रीय उपाध्यक्ष निशा अर्यालले गरेकी थिइन् ।

त्यसैगरी महेश पौड्याल, राधेश्याम लेकाली, प्रमोद सारङ्ग, रत्न सुब्बा, लालगोपाल सुवेदी, ईश्वरी भट्ट, लवकुमार बुढाथोकी लगायतका लेखकहरूका पुस्तक विमोचन गरिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत र मोहन सिटौला तथा वर्तमान केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली सहितको कार्यसमिति र च्याप्टर अध्यक्ष तथा प्रतिनिधि र आजीवन सदस्यहरूको उपस्थितिमा केन्द्र, ट्रस्टी र च्याप्टरबीचमा दरिलो समन्वय कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको थियो ।

१७ च्याप्टरका बीचमा भएको उक्त छलफलले विधान र आन्तरिक विषयमा दफाबार छलफल गरेको थियो । सहभागीहरूबाट आएका सुझाव र गुनासोहरूलाई केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा, केन्द्रीय सचिव लालगोपाल सुवेदी र आजीवन सदस्य रमेश दाहालले संश्लेषण गरेका थिए । छलफल कार्यक्रमको सभापतित्व केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला‘ले गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत दोस्रो हुने कोरिया च्याप्टर तथा तेस्रो हुने कतार च्याप्टरलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट च्याप्टर पुरस्कारको प्रायोजन पदम विश्वकर्मा र द्वितीय र तृतीय च्याप्टर पुरस्कारको प्रायोजन निशा अर्यालले गरेकी थिइन् । साथै यसअघि क्रमशः पहिलो र दोस्रो च्याप्टर सम्मेलनको संयोजन गरेर उत्कृष्ट कार्य गर्ने शान्तिराम ढकाल र कृष्ण गिरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको मूल उद्घाटन सत्रको सञ्चालन केन्द्रीय कार्य समितिका महासचिव गणेश घिमिरे र जापान च्याप्टर महासचिव रविन शर्माले गरेका थिए ।

पहिलो दिनको दोस्रो सेसनमा ५० कविहरूले कविता वाचन गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य रामकृष्ण बम मल्ल, प्रतिष्ठानका जापान शाखा अध्यक्ष सूर्य खड्का र समुद्रराज पौडेलले साङ्गीतिक माहोल सिर्जना गरेका थिए । काव्य गोष्ठीको सञ्चालन केन्द्रीय सचिव लालगोपाल सुवेदी र जापान च्याप्टर उपाध्यक्ष हेमन्त गिरीले गरेका थिए । जापानस्थित नेपाली दूतावासले कार्यक्रममा सहभागी साहित्यकारहरूलाई स्वागत गर्दै रात्रीभोजको आयोजना गरेको थियो ।

कार्यक्रममा केन्द्रीय समिति तर्फबाट दिइने विभिन्न पुरस्कार प्रायोजन गर्ने भवन भट्ट, पदम विश्वकर्मा एवं दुर्गा दाहाललाई पनि सम्मान गरिएको थियो । अनेसास कोरिया च्याप्टरको गतिविधि र प्रकाशनको काममा महत्त्वपूर्ण योगदान पुर्याएबापत वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ लाई कोरिया च्याप्टरले अभिनन्दन समेत गरेको थियो ।
अन्तिम सत्रमा च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो च्याप्टरको २ वर्षे कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यो सत्रको सञ्चालन केन्द्रीय उपाध्यक्ष शान्तिराम ढकालले गरेका थिए । सम्मेलनमा अमेरिका, जापान, कोरिया, नेपाल, भारत, कतार, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकको सहभागिता थियो ।

अन्त्यमा जापान च्याप्टरका नवनिर्वा्चित अध्यक्ष गिरिजा गैह्रेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको समापन मन्तव्यसँगै तीन दिने च्याप्टर सम्मेलनको औपचारिक समापन भएको थियो ।

उक्त कार्यक्रमले केन्द्र र च्याप्टरबीचको सम्बन्ध मजबुत बनाएको र सबैजसो आन्तरिक समस्याको समाधान भएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए ।

वि.सं.२०७६ माघ ६ सोमवार १६:०४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...