कुनै पनि सरकार वा प्रधानमन्त्री, मन्त्री वा पदाधिकारीको प्रशंसा वा आलोचना त्यो सरकार चलाउने नेताको कार्यसम्पादन र कार्यशैलीप्रति हो, कुन दलको सरकार हो त्यससंग मतलबुनुहुदैन । न कुनै सरकार वा त्यसका मन्त्री वा प्रमको आलोचना गर्नु उसका बिरोधीको प्रशंसा गर्नु हो, न सरकार र तिनका पात्रको प्रशंसा गर्नु बिपक्षी दल वा नेताको आलोचना हो । सरकार मेरो हो, उसको काम कार्यवाहीले मलाई सकारात्मक वा नकारात्मक असर गरिरहेको हुन्छ, त्यसैले सोही अनुरूपको अभिब्यक्ति दिनु नागरिकको पनि कर्तब्य हो । सरकारले गर्ने काम उसका संयन्त्रबाट हो। सरकारले कुनै नयॉ काम गर्न कार्यालय खोल्ने हो भने कि सामान्य मन्त्रालय कि अर्थ मन्त्रालयले आफू मातहत खोल्नुपर्ने परिस्थिति बन्दै गइरहेको देखिन्छ।
भर्खरै नेपालको सबैभन्दा ठूलो मध्येको एक प्रोजेक्ट एमसीसी-नेपाल अर्थ सचिव मातहत खुलेको छ। यी दुई मन्त्रालयले अरू मन्त्रालयलाई पुच्छर समातेर पानी सर्प नचाएझैं मात्र गरिरहन्छन्, अरू सरकारी निकायहरूलाई धुरूक्कै रूवाउछन्, झुलाउछन्, घरिघरि र जहिले पनि! O&M को नाममा यी दुई मन्त्रालयका प्रतिनिधिकै दादागिरी चलिरहन्छ, संगठन संरचना, स्थायी दरवन्दी स्वीकृति, आयोजनाका करार र अस्थायी दरबन्दी यिनको जुँगाको ईसाराबिना स्वीकृत हुन असंभव हुन्छ, यिनको चाकडी र जीहजुरी बिना डेग चल्दैन। लाग्छ यी शासक हुन् अरू सबै मन्त्रालय तथा हाकिम तिनका दास हुन् । तर, मुलुकको प्रगति र अवनतिमा यी हैकमबादी निकायद्वयले कही कतै जवाफदेही र जिम्मेवारी लिनु भने पर्दैन, अरूको कॉधमा बन्दुर अडाएर पड्काउने सुबिस्ता पाएका छन्। तिनले अरू मन्त्रालयलाई न कर्मचारी, न दरवन्दी दिन्छन् ; न घोषित बजेट र निकाशा पनि समयमा पर्याप्त गर्छन् र काम भएन भनेर अरूले अपजस लिनुपर्ने र झपार खान भने परिरहन्छ ।
नेपालमा आजसम्म कुनै पनि सरकार असफल भयो भनेर सरकारले भनेको सुनिएको छैन। कुनै बजेट उपल्व्धिपूर्ण नभएको भएन । सबै पंचवर्षिय येाजना सफल भए । विकासका सूचक जहिले पनि सकारात्मक रहे । शान्तिसुरक्षा सुशासन पारदर्शिता रोजगारी बढेको बढ्यै भईरह्यो । कुनै राजनीतिक व्यवस्था खराब भएको प्रमाणित भएन, भलै विपक्षीले मन नपराएर मात्र ढलेका किन नहुन्- आजसम्मका सबै नेता र सरकारले यही भन्दै आएका छन्, विगत ६०-७० वर्ष देखि । कोही असफल अनउपब्धिमूलक भएनन् , तर मुलुक भन्ने निरन्तर तन्नम हुदै गयो । खाएर मात्र हुदैन, पाचनको मेटाबोलिज्म ठीक भएन भने भुंडी र बोसो मात्र लाग्छ, शरीरर फुर्तिलो हुदैन, कमजोरी बढ्दै जान्छ र नाना थरिको रोगले ईल्लिबिल्लि पार्छ ।
मुलुकको मूल समस्या यही मेटाबोलिज्म ध्वस्त भएर नै हो। प्रधानमन्त्री र मन्त्रीहरुले जे मन लाग्यो त्यो घोषणा गर्दै हिड्ने हैन । आआफ्ना घोषणापत्रमा जनतासंग गरिएको पुर्वबाचाको बुंदा नं यति यति कार्यान्वयन गर्ने भन्दै जाने भन्ने हो । राष्ट्रिय योजना आयोग, प्रान्त सरकार, स्थानीय सरकार, मन्त्रीहरू, मन्त्रालयका सचिवहरुलाइ घोषणापत्रको आधिकारिक दस्तावेज दिएर योजना कार्यक्रम र बजेट तयार गर्न निर्देशन दिने हो । सत्तापक्षीय वा विपक्षी राजनीतिक दल वा सरकारले निगरानी वा अनुगमन गर्दै रहने हो। पुरानो मक्किएका प्रकृया र परम्पराको लास बोक्ने हैन । सम्पूर्णतः नविन ढंगका योजना तरिका पद्दति प्रविधिमार्फत अगाडी बढ्ने हो । जिरोबाट अगाडी बढेजस्तो गरि विगतको नचाहिदो बोझ फ्याक्दै जाने हो, अहिलेको नेपालले पूर्णतः सघीय संरचनामार्फत नयाँ यात्रा सुरु गरेको छ भन्ने मनन गर्ने हो ।
नविन सुरुवातबाट समृद्ध सहभागिपूर्ण मुलुक संचालन गर्ने हो । हामीले अहिलेका सबै नेताको सरकारहरू चलाएको, तिनको कार्यक्षमता के कति छ भोगिसकेका हौं, अब यी नेताहरूको कुनै नयॉ परीक्षण गर्न आवश्यक छैन । संघीय व्यवस्थाको नयॉ सरकारको नेतृत्व गर्न पाउनु ठूलो अवसर र ऐतिहासिक हो । मूल कुरा सरकार संचालन र व्यवस्था र पद्दति नचाहिने रूमानी कल्पनामा हैन कि, संस्कृति र संस्कार लोकतान्त्रिक, स्वच्छ प्रगतिशील, विज्ञान-प्रविधिमैत्री हुन्छ कि हुन्न भन्ने हो । सबै नेपालीले अरूलाई हैन कि आफैलाई, आफ्ना नेता र दललाई सुव्यवस्थित गर्न निरन्तर दबाब दिईरहने कर्तव्य सशक्त ढंगमा पालन गर्दै जानुपर्छ । जनता वाचडग हुनैपर्छ, परायालाई भुक्न मात्र जान्ने पेट डग हैन । छाडा, अनैतिक, भ्रष्ट, आपराधिक, अनुशासनहीन, अहंकारी, अधिनायकवादी राजनीतिक नेताको नाकमा नत्थी झुण्ड्याउने सामर्थ्य जनता र कार्यकर्तामा हुनैपर्छ । आफूभन्दा माथि दल र दलभन्दा माथि मुलुक हो यही मन्त्र सम्झदै रहन सकियो र व्यवहार गरियो भने मुलुक अघि बढिरहने छ । हिजैको संस्कार र मनस्थिति जारी रह्यो भने दुर्घटनाको फेला पर्न अब धेरै पर्खन जरूरी हुने छैन ।
चीनलाई अहिले समृद्ध शक्तिशाली प्रविधिसम्पन्न अवस्थामा पुर्याउन ककसले राष्ट्र निर्माणमा योगदान गरेका थिए ? यसबारेमा चिनीया अडियो, भिजुअल र प्रिन्ट मिडीयाले अहिले धमाधम खोज गर्दै प्रशारण गरिरहेका पाईन्छन् । आजको शक्तिशाली चीन बनाउनुमा गॉउ देखि सहर, किसान देखि बैज्ञानिक, अर्थशास्त्री देखि व्यापारी, ससाना जस्ता काम देखि अन्तरार्ष्ट्रियस्तरका काममा दिलोज्यानले समर्पण गर्ने सबै तप्काका व्यक्तित्वलाई जनसमक्ष ल्याउदै लगातार प्रोत्साहित सम्मानित गरिदै गरेको देखिन्छ। यता नेपालमा भने मुलुक विगार्नेहरूलाई खोजीखोजी जनसमक्ष ल्याउन न्वारान देखि कनिकनि उजागर गरिन्छ ।
यो मुलुकमा जे जति वनाइयो यसमा योगदान गर्नेलाई कुनै प्रोत्साहन सम्मान गरिने गरिएको पाईदैन । कसैको कसरी हुन्छ सानो खोट निकालेर पतीत प्रमाणित गर्ने? यही धुन मात्र देखिन्छ । नकारात्मक र नचाहिदो राजनीतिक गफबाजीमै मिडिया र जनता डुबेका पाईन्छन् । अतिरिक्त, नेपालमैं पनि सोसल मिडिया ईन्टरनेट प्रविधि उपस्थितिले धरातलीय नियम फेरिदिएको छ। सोसल मिडिया भनेको डाईरेक्ट डिमोक्रेसी हो, प्रविधि हो, प्लेटफर्म हो- यो कुनै बस्तु हैन । सत्ताधारीहरू ईतिहासभरि नै डिमोक्रेसीको ताकत देखि थर्कमान रहदै आएका हुन्। तिनलाई डिमोक्रेसी त बिपक्षमा बस्नुपर्दा मात्र चाहिएको हुन्छ ।
मैं हुँ भन्ने डाईनासोर सत्ताधारीहरूलाई डाईरेक्ट डिमोक्रेसीले जुत्ताको तलुवा चटाउछ भन्ने यहॉका सत्तान्ध सत्ताधारीहरूलाई अझै होस आएको छैन भने अब ती होसमा आउन्, यसमैं तिनको भलाई हुनेछ । नत्र उठ्न नसक्ने गरी ओछ्यान पर्न बेर लाग्दैन । प्रविधि जंगली डढेलो हो, यसले एए, लल भन्दाभन्दै धोती स्याहार्न मौका नमिल्दै, सखाप पारिदिन्छ सत्ताको सुनौलो सिंहासन ! चेतावनीको भाषा संकट नभोग्दासम्म काम लाग्छ , त्यसपछि यथार्थले निर्मम प्रहार गरिहाल्छ । ईतिहॉसको ज्ञानले यही पाठ पढाउदै आएको छ । कमजोर स्मरणशक्ति हुनेहरू बारम्बार उही मूर्खता दोहराउछन् ! तर हालमा यस्तो जहॉतही देखिदै छ- महाभ्रष्टहरूलाई खोजीखोजी राजनीतिक वा संबैधानिक नियुक्ति दिऔं, लुट्ने लुटाउने काम मजाले गराऔं, गरौं । यसबारे विरोधका स्वर सोसल मिडियामा लेखिएछ भने पुलिस लगाएर लेख्ने वा शेयर गर्नेलाई थुनाऔं वा नभए सोसल मिडिया बन्द गराईदिऔं।
मिडियाले भ्रष्टकाविरूद्ध सप्रमाण लेखेछ भने राजीनामा दिन लगाऔं र तत्काल स्वीकृत गरी सबै जोगिऔं, जोगाऔं । क्या कानुनी जवाफदेहीपूर्ण संवैधानिक जुक्तिको आविष्कार गरिएछ हाम्रो नेपालमा, नोबेल पुरस्कारयोग्य संविधान पनि बनाईएछ ! मान्नैपर्छ संबैधानिक बुद्धिप्रसादहरूको यस्ता तरकिवलाई पनि । यसरी हाम्रै पालामा नेपाल ‘स्वर्ग’ बन्छ क! जापान उच्चतहको बिकसित देश हो तर त्यहीं विश्वमै सबैभन्दा धेरै जनाले आत्महत्या गर्ने गर्छन् । त्यस्तो बिकासको मोडल नेपालीलाई चाहिएको होईन।
नेपालको बिकासको मोडेल खुशी, आनन्द, सुखसुबिधा र पारिवारिक वातावरण, आपसी सहयोग र सहकार्य बन्नुपर्छ। यसका अनुकूल पूर्वाधार वातावरण निर्मा हुनुपर्छ। यसमा गहन चिन्तन मनन होस्, हामी अरू देशलाई देखेर बहकिनु घातक हुन सक्छ, अरूले हाम्रो अनुशरण गर्नलायक बन्न सक्नुपर्छ । तर, नेपाल घूसलाई प्राणवायु (अक्सिजन) मानिएको मुलुक बनिरहेको छ । घूस खान नपाए प्राणपखेरू नै उडेर मुलुकमा भयंकर अशान्ति छाउने जस्तो पो देखिन्छ । छाडा साँढेलाई दाम्लोले बाध्न खोज्यो भने दाम्लो चुडालेर सारा हराभरा खेतबारीमा खुरी खेलेर सत्यानाश पारिदिन्छ। त्यसैले बरु भ्रष्ट साढेंहरूलाई छाडा छाड्यो भने शान्त भएर पेट भरि एकनाशले त चर्छ, सबै बाली सत्यानाश त पार्दैन भनेर चुप रहनु परेको छ ।
नेपाल शान्त रहेको देखिनु पनि सायद भ्रष्ट, डन, चोर, फटाहा, कालाबजारी, सिन्डिकेटधारी, ठग ठेकेदार जस्ता साँढेहरूलाई बेलगाम छाडेर मजाले चर्न दिएरै त हैन?
उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्
वि.सं.२०७६ फागुन ४ आइतवार १८:३४ मा प्रकाशित






























