७ फागुन, काठमाडौँ । नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् ।
भारतको दिल्लीस्थत नेपाली राजदूतावासले हालै विज्ञप्ति जारी गर्दै स्थलमार्ग प्रयोग गरेर भारत भएर त्यहाँबाट मध्यपूर्वका नौ देशमा उड्न रोक लगाउने निर्णय गरेको हो ।दूतावासले विज्ञप्तिमार्फत खुला सिमानाको प्रयोग गरी मानव तस्करीसमेत हुने गरेकाले स्थलमार्ग प्रयोग गरेर भारतबाट मध्यपूर्वका ती देशमा उड्न नपाइने जनाएको छ ।
खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी हुने भन्दै दूतावासले अध्यागमन विभागलाई पनि स्थलमार्गबाट भारत जाने नेपाली नागरिकलाई त्यहाँबाट जहाज चढ्दा प्रस्थान छाप नलगाउने व्यवस्था गर्न अनुरोध गरेको छ ।वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लिएका नेपालीको दूतावासबाट नो अब्जेक्सन लेटर भएमा भने भारतबाट उड्न पाइने छ ।
साथै मध्यपूर्वका नौ देशबाहेक अरू देशमा जानका लागि राहदानीमा भारत प्रवेश गरेको छाप भारतीय अध्यागमनले लगाएको हुनुपर्छ ।नेपालले प्रस्थान छाप नलगाएको राहदानीमा भारतले पनि आगमन छाप नलगाउने हुँदा उनीहरूलाई भारतीय विमानस्थल प्रयोग गरी उड्न अनुमति दिइने छैन । बुधबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ फागुन ७ बुधवार ०८:१० मा प्रकाशित






























