११ फागुन, काठमाडौं । ६९ औं जन्मदिन मनाउन जन्मथलो तेह्रथुमको आठराई जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पनि केक काटेर जन्मदिन मनाएका छन् । बालुवाटारमा ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु, सुभेक्षुक र शुभचिन्तक पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमा राखेको तस्वीरमा प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद, पत्नी राधिकासहित शुभेक्षुक र शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेको देख्न सकिन्छ । प्रधानमन्त्री ओली जन्मदिन मनाउनका लागि आफ्नो जन्मथलो तेह्रथुम जाँदैछन् । तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।

‘प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि गाउँपालिकामा आइतबारका लागि स्थानीय बिदा दिएका छौं,’अध्यक्ष लिम्बूले भने। प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार बनाइएको छ। सल्लेको इवास्थित जन्मघरबाट आइतबार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

वि.सं.२०७६ फागुन ११ आइतवार ११:५५ मा प्रकाशित






























