२९ मङ्सिर, रोम । इटालीको नयाँ सरकारका प्रधानमन्त्री पाओलो जेन्टिलोनीले मङ्गलबार संसद्को तल्लो सदनको विश्वासको मत जित्नु भएको छ । मङ्गलबार भएको सो मतदानमा उहाँको पक्षमा ३६८ र विपक्षमा १०५ मत परेको थियो ।
इटालीका नवनियुक्त प्रधानमन्त्री पाओलो जेन्टिलोनीले सोमबार मन्त्रीपरिषद्को गठन गर्नुभएको र नवनियुक्त मन्त्रीमण्डल सबै सदस्यहरुले सोमबार साँझ नै औपचारिक सपथ ग्रहण गसिकेका थिए । अब यस मन्त्रीमण्डलले सिनेटमा दोस्रो चरणको विश्वासको मत लिनु पर्ने र सो का लागि आज बुधबार मतदान हुने बताइएको छ ।
आफूलाई समर्थन गर्न सांसदहरु समक्ष याचना गर्दै मतदान अगाडि जेन्टिलोनीले गर्नुभएको एक सम्बोधनमा इटालीले कडा दवाव खेप्नु परेका प्रमुख मुद्दाहरुमा इटालीको तेश्रो ठूलो ऋणदाता – मोन्टे डे पास्चि डि साइना (एमपिएस) ले सामना गर्नुपरेको आर्थिक सङ्कट, आप्रवासी समस्या र निर्वाचन प्रणालीमा सुधार जस्ता बिषयमा नयाँ सरकार केन्द्रित भई इमान्दारीपूर्वक काम गर्ने बताउनुभएको थियो ।
साथै, कमजोर राष्ट्रिय अर्थतन्त्रको पुनःसुदृढिकरण, उच्च बेरोजगारी दरमाथि नियन्त्रण र भूकम्प प्रभावित देशके मध्यवर्ती क्षेत्रमा पुनःनिर्माणजस्ता बिषयहरु प्नि सरकारको प्राथमिकता परेको उहाँले बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री म्याटेओ रेन्जीले राजीनामा दिनुभएपछि जेन्टिलोनीलाई गतः ७ डिसेम्बरका दिन इटालीका राष्ट्रपति म्यटारेलाले प्रधानमन्त्रीमा नियुक्त गरी नयाँ मन्त्रीमण्डल गर्न लगाउनु भएको हो ।
नव नियुक्त ६२ वर्षीय प्रधानमन्त्री जेन्टिलोनीलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्दै सन् २०१८ को फेब्रुअरीमा संसद्ीय निर्वाचन गर्ने जिम्मेबारी समेत थपिएको छ । यसअघि उहाँले इटालीको परराष्ट्र मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आउनु भएको थियो ।
इटालीमा संवैधानिक सुधार विषयमा गतः डिसेम्बर ४ मा सम्पन्न भएको जनमत सङ्ग्रहमा रेन्जीको विपक्षमा मत परिणाम आएपछि उहाँले राजीनामा दिनुभएको थियो ।
जेन्टिलोनीलाई निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट सहयोगीका रूपमा लिइन्छ । रेन्जी र जेन्टिलोनी दुबैजना एउटै दल – सेन्टर लेफ्ट डेमोक्र्याटिक पार्टीका सदस्य हुनुहुन्छ र यस पार्टी संसद््को सबभन्दा ठूलो पार्टीको रुपमा कार्यरत छ ।
निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट रहनु भएका कारण रेन्जीको राजनीतिक कार्ययोजनालाई नवनियुक्त प्रधानमन्त्रीले पनि अगाडि बढाउने विश्लेषकहरुले विश्लेषण गरेका छन् ।सिन्ह्वा
वि.सं.२०७३ मंसिर २९ बुधवार ११:२८ मा प्रकाशित