अहिले कोरोनाभाइरस सङ्क्रमण भएका १,००० बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ। त्यति सङ्ख्यामा सङ्क्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ।
यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार सरकारले गरेको सबैभन्दा उत्तम आकलनमा मृत्युदर दुई प्रतिशत वा त्यो भन्दा कम देखिएको छ। तर मृत्युदर विभिन्न कुरामा निर्भर गर्छ।
बिरामीको उमेर, लिङ्ग र सामान्य स्वास्थ्य तथा स्वास्थ्य प्रणालीमा पनि त्यो भर पर्छ। यो विद्यावारिधि तहजत्तिकै कठिन छ। सङ्क्रमणको गणना गर्न पनि निकै गाह्रो हुन्छ । भाइरसले गर्ने अधिकांश सङ्क्रमणको गणना नै हुँदैन। किनभने मानिसहरू साधारण लक्षण देखिँदा चिकित्सककहाँ जाँदैनन् ।
विश्वभरि भिन्न स्थानमा भिन्न मृत्युदर देखिएको छ । भाइरसका भिन्न संस्करणका कारण त्यस्तो हुने सम्भावना देखिँदैन । देशहरूमा सङ्क्रमण पत्ता लगाउने र गणना गर्ने क्षमतामा एकरूपता नभएकाले मृत्युदर भिन्न देखिएको लन्डनस्थित इम्पीरीअल कलेजको अनुसन्धानले देखाएको छ।

तसर्थ जानकारीमा नआएका सङ्क्रमणका कारण मृत्युदरको अधिक गणना गर्न सहज हुन जान्छ । तर यो ठ्याक्कै उल्टो पनि हुन सक्छ ।
कुनै पनि सङ्क्रमण निको हुन वा त्यसका कारण मृत्यु हुन समय लाग्छ । सङ्क्रमणको पूर्ण चक्र पार नगरिसकेका सबै जनालाई गणना गर्दा मृत्युदर कम आकलन हुन जान्छ । किनभने अन्ततः मृत्यु हुने बिरामी छुट्न सक्छन्।
मृत्युदरको स्थिति बुझ्न वैज्ञानिकहरू प्रत्येक प्रश्नसँग सम्बन्धित सबै प्रमाणहरू एकीकृत गर्छन्। उडानबाट फर्काइएका यात्रु, साधारण लक्षण देखा परेका र निकै कडा निगरानीमा राखिएका बिरामी तथा तोकिएको सानो समूहका मानिसको सङ्क्रमणको अनुपात गणना गरिन्छ।
तर त्यस्ता प्रमाणका अंशबाट आएको अलिकति फरक उत्तरले पनि समग्र चित्रमा ठूलो परिवर्तन गरिदिन सक्छ। अन्यत्रभन्दा उच्च मृत्युदर भएको चीनको हुबे प्रान्तको मात्र तथ्याङ्क प्रयोग गर्ने हो भने समग्र मृत्युदर निकै नै खराब देखिन्छ । त्यसैले वैज्ञानिकहरू एउटा सीमा बताउँछन् र विद्यमान सर्वोत्तम अनुमानित सङ्ख्या पनि। तर त्यसले पनि सबै कुरा भन्दैन किनभने मृत्युदर एउटै मात्र छैन।
कोरोनाभाइरस सङ्क्रमण हुँदा केही प्रकारका मानिसमा मृत्यु हुने सम्भावना अधिक हुन्छ। त्यस्ता व्यक्तिमा वृद्ध, अस्वस्थ र सम्भवतः पुरुष पर्छन् । चीनका ४४,००० भन्दा बढी सङ्क्रमणको विश्लेषणसहित गरिएको पहिलो अनुसन्धानमा अधबैँसे उमेरका मानिसको तुलनामा वृद्ध मानिसको मृत्युदर १० गुना भएको पाइएको थियो।

तीस वर्षभन्दा मुनि उमेर समूहमा मृत्युदर एकदमै कम पाइएको थियो । त्यस्तो उमेर समूहका ४,५०० सङ्क्रमणमा आठ जनाको मात्र मृत्यु भएको थियो । अनि मधुमेह, उच्च रक्तचाप, मुटु वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसमा मृत्युदर पाँचगुना बढी पाइएको थियो।
त्यस्तै महिलाको तुलनामा पुरुषको मृत्युदर केही बढी देखिएको छ। यी सबै कारणले एकअर्कालाई प्रभाव पार्छन् र हामीले अहिलेसम्म पनि सबै स्थानका प्रत्येक किसिमका मानिसका लागि कस्ता खतरा छन् भन्ने पूर्ण तस्बिर पाउन सकेका छैनौँ ।
बीबीस न्यूजको सहयोगमा
वि.सं.२०७६ फागुन २० मंगलवार १७:०८ मा प्रकाशित





























