२१ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला सरकारी स्वामित्वको कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अर्थमन्त्री स्तरीय निर्णयबाट सञ्चालकमा नियुक्त भएका उनलाई बैंकको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको हो ।
राष्ट्र बैंकबाट उमेरहदको कारण डेढ महिना अघि मात्रै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका निरौलालाई अर्थले कृषि विकास बैंकको अध्यक्षमा नियुक्त गरेको हो ।
उनले आजै अध्यक्षका लागि पद तथा गोपनियताको सपथ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालबाट गरेका छन् । नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर डा. चिरिञ्जीवी नेपालले सपथ ग्रहण गराएका हुन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नरहरु चिन्तामणि शर्मा, शिवराज श्रेष्ठ, बैंक नियमन विभागका निर्देशक मीना पाण्डे र कृषि विकास बैंक लि.का संचालक समिति सदस्यहरु संजिव पौडेल, श्री हरिप्रसाद पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।
अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए भने प्रवक्ताको जिम्मेवारीमा पनि थिए । उनले डेढ वर्ष राष्ट्र बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा ब्यबस्थापन समिति सदस्य रहेर पनि काम गरेका थिए ।
निरौलासँग राष्ट्र बैंकको बैंक सुपरिवेक्षण, नियमन विभागको अनुभव छ । उनले समस्यामा गएका बेला नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि व्यवस्थापन हेरेका थिए । त्यस्तै बैंक अफ काठमाडौंको संचालक समितिमा विवाद भई राष्ट्र बैंकले टेकओभर गर्दा निरौलाकै नेतृत्वमा ब्यवस्थापन समिति बनेको थियो । सो समितिले ३ महिनामा संचालक समितिको चुनाव गराई नेतृत्व हस्तान्तरण गरेको थियो ।
बैंकिङ क्षेत्रमा राम्रो अनुभव बटुलेका उनको नियुक्तिले कृषि विकास बैंकलाई थप उचाईमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार १६:५२ मा प्रकाशित




























