न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको खसोखास डटकमले समाचारमा लेखेको छ । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।
समाचारमा जनाइए अनुसार ती नेपालीलाई प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि पाँचदिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुईदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको छ ।
न्युयोर्कको ज्याक्सनहाइट नजिकै बस्दै आएका ती व्यक्तिलाई अहिले परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको छैन । आफूहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र अहिले स्वासप्रस्वासमा समस्या आएकाले भेन्टिलेटरमा राखिएको खबर पाएको उनका छोराले जानकारी दिएको उल्लेख छ ।
पहिलेदेखि मधुमेहको समस्या रहेको र अन्य स्वास्थ्य समस्या भने नभएको पारिवारिक श्रोतले जानकारी दिएको छ । कान्छाछोरा भने १८ बर्षभन्दा कम उमेरको भएका कारण कोरोनाको टेस्ट नगरेको परिवारका सदस्यले बताएका छन् ।
आफूलाई पनि ज्वरो आएको र खोकी लागेको उनका छोराले बताएका छन् । आफूमा पनि लक्षण देखिएपछि सपरिवार नै कोरोनाको चेकअपका लागि एल्हस्मर्ट अस्पतालमा गएको र मंगलबारसम्म रिपोर्ट आउने अपेक्षा गरेको उनले जानकारी दिएको समाचारमा उल्लेख छ ।
वि.सं.२०७६ चैत १० सोमवार १०:०७ मा प्रकाशित






























