गर्नू धैर्य बसेर ढुक्कसँगले आफ्नासँगै साथमा
रेखा लक्ष्मणको छ पालन गरे आफ्नै छ यो हातमा
कोरोना घर बाहिरै डुलिरहोस् थाकेर भागोस् पर
ढोका बन्द गरेर नै बसिरहे पस्दैन तिम्रो घर (१)
हाहाकार भयो सवै मुलुकमा यो प्राण भो दाउमा
राष्ट्राध्यक्ष समेत गाँज्दछ हरे कौडी जसै भाउमा
सारा विश्व डराउँदैछ अहिले बाँच्नैछ गाह्रो तर
ढोका बन्द गरेर नै बसिरहे पस्दैन तिम्रो घर(२)
यस्तो सङ्कटको घडी चलिरहे बाँच्दैन कोही पनि
पैसा वा पदको घमण्ड छ भने साँचिन्न रोए पनि
छैनन् जुक्ति कुनै र मार्छ यसले खै औषधीको भर
ढोका बन्द गरेर नै बसिरहे पस्दैन तिम्रो घर (३)
होलान् कष्ट निकै तथापि अहिले खप्दा निकै बेश छ
बाँच्यौं मात्र भने रमेर दुनियाँ भोग्नै अझै शेष छ
आयो काल बनेर विश्वभरमा संहार गर्दै तर
ढोका बन्द गरेर नै बसिरहे पस्दैन तिम्रो घर (४)
आऊ हात मिलाउँदै अगि बढौं सन्तानका खातिर
लागौं एक भएर कर्मठ बनी संघर्ष हो आखिर
कोरोना कमजोर भै भुवनमा थाक्ने उपायै गर
ढोका बन्द गरेर नै बसिरहे पस्दैन तिम्रो घर (५)
वि.सं.२०७६ चैत १६ आइतवार ११:२१ मा प्रकाशित






























