
कोरोना संक्रमण सुरु भएपछि मृत्यु भएका व्यक्तिबारे शंका, तिरस्कार, भ्रम तथा त्रास उत्पन्न भएको छ । यस्तो समयमा भएका मृत्युको विवरण सरकारले समयमै स्पष्ट गर्नुपर्छ । पहिले मृत्यु हुने अनि रिपोर्ट कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।
– हामीले बुझ्नु पर्छ कि प्रत्येक दिन र हप्तामा मान्छेको मृत्यु पहिले पनि हुन्थ्यो । विभिन्न उमेर समुहका व्यक्तिको निधन हुन्थ्यो । अहिले पनि जन्म र मरण भइरहेको छ । अहिले भएका हरेक मृत्यु कोरोनासंग जोड्नु हुँदैन ।
– कुनै पनि व्यक्तिको मृत्यु भयो भने त्यो परिवारलाई तिरस्कार गर्ने, सहयोग नगर्ने, सान्त्वना नदिने तथा लास नउठाउने जस्ता अमानविय काम हामीले गर्नुहुँदैन । मृत्यु हरेक घरमा हुन्छ, छिटो र ढिलो मात्र हो । आजको हाम्रो व्यवहार भोलि आफ्नो लागि प्रत्युपादक नहोस् भन्ने हामीले हेक्का राख्नुपर्दछ ।
– विदेशबाट नेपाल आएका आफ्ना छिमेकीलाई तिरस्कार गर्ने, लखेट्ने, नछुनेजस्ता व्यवहार नगरौं । यो देशमा जति हाम्रो अधिकार छ, उहाँहरुको त्यति नै अधिकार छ । उहाँहरुलाई सबैले मद्दत गरेर १४ दिन क्वारेन्टाइनमा राखौं । त्यो अबधिमा बिरामी भए उपचारको लागि सहयोग गरौँ ।
-हामीले के बिर्सिनु हुँदैन भने नेपाल रेमिट्यान्सले चलेको देश हो । हाम्रो गाउँमा आएका टेलिभिजन, मोबाइल फोन, कपडादेखि हरेक कुरामा उहाँहरुको ठूलो देन छ । नेपालमा विपद पर्दा उहाँहरुले गरिरहनु भएको सहयोग भोलि पनि हामीलाई आवश्यक पर्दछ ।
-सरकारले नेपाल आउन चाहाने संसारको जुनसुकै कुनामा रहेको नेपालीलाई आफ्नो देश आउने बाताबरण सिर्जना गर्नुपर्छ । विपदको बेला सबैले आफ्नो घर सम्झिन्छौँ । देश भनेको आफ्नो घर हो । उहाँहरुलाई ल्याएर १४ दिन अनिबार्य क्वारेन्टाइनमा राखेर आफ्नो थातथलो जाने बाताबरण प्रदान गर्नुपर्दछ । यो बिपद्पछि धेरै नेपाली नेपालमै रहुन भनेर सरकारले गाउँमा अवसरको सिर्जना गर्नुपर्दछ ।
वि.सं.२०७६ चैत १७ सोमवार २०:५७ मा प्रकाशित