५ बैशाख, बेलायत । बेलायतमा बुधबारै अर्का एक गोर्खा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको समाचार छ ।
पाल्पाको सत्यवती गाउँपालिका गोठादीका पूर्व गोर्खा सैनिक घनबीर थापाको बुधबार (१५ अप्रिल) का दिन किँग्ङस्टन अस्पतालमा निधन भएको पाल्पाली समाज बेलायतका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिएका छन् ।
बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य नंबर पि १५१ का ७५ वर्षीय थापाको मृत्यु भएको हो ।, उनकी श्रीमती भिम कुमारी थापाले उक्त कुराको जानकारी दिएको पाल्पाली समाजका महासचिव खुम कुँवरले बताएका छन् ।
ब्लडप्रेसर लो र पिशाव थैलीको समस्याले औषधि लिइरहेका रहेका थापाको कोरोना संक्रमणको लक्षण देखिएपछि एकसाता अघि अस्पताल भर्ना गरिएको थियो । त्यहि उपचारका क्रममा उनको बुधबार मृत्यु भएको हो ।
थापाकी श्रीमती आफ्नै निवासमा सेल्फ आइसोलेसनमा रहेको र दुई छोरा नेपालमै रहेको बताइएको छ । उनका दुई छोरा, एक छोरी छन् । जेठा छोरा र छोरी नेपालमा रहेको र कान्छा छोरा बहराइनमा रहेको बताइएको छ ।
११ वर्षदेखि बेलायतमा बस्दै आएका थापा आर्मी नम्बर २११५५६३१ सेकेण्ड गोरखा राइफल्सका हुन् ।
समाजका अध्यक्ष रेग्मीले थापाको मृत्युको खबरले आफूहरु मर्माहत भएको बताउँदै समाजले थापाको परिवारलाई आवस्यक सहयोग गर्ने बताएका छन् ।
बेलायतमा बुधबार मात्रै चार नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । जसमा थापासहित स्याङ्जाका लक्ष्मण श्रेष्ठ, तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङ, धनकुटाका गोम्देन तामाङको मृत्यु भएको थियो ।
स्मरण रहोस्, बेलायतमा यसअघि कोरोना संक्रमणका कारण लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल पोखराकी पुष्पा घले, कास्की घान्द्रुकका लक्षिन गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङ, धनकुटाका गोम्देन तामाङसहित १४ जनाको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।
पाल्पाका धनवीर थापासहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो ।
बेलायतमा कोरोना संक्रमणको उपचार गराइरहेका अर्का एक नेपालीको मृत्यु
वि.सं.२०७७ वैशाख ५ शुक्रवार १०:०४ मा प्रकाशित






























