बारीको एक कुनामा छ इनार
इनारसँगै छ गुलाबको बोट
बाटवारि छु म
बाटापारि छ बारी
बाटोमा खडा छ कोरोनाको काल
जान सक्दिन पानी हाल्न
वैलिगयो त्यसै
सुकिजान्छ होला
नफुली ऐले साल वसन्त ।
यसो त कहिले पो फुल्थ्यो र झुप्राछाप्रामा वसन्त
कि फुल्थो महलहरूमा
कि फुल्थ्यो वनपाखाहरूमा
फुल्नेछैन यस वर्ष कतै
हबेलीका उद्यान र गमलाहरूमा पनि वसन्त
सुक्न सक्छन्
अझ डढ्न सक्छन् ती यस वर्ष
उखर्माउलिएको गर्मीमा
किनकि पानी हैन आगो हाल्दैछ मालीे
आगो, भोकको आगो १
पाखाहरूमा पनि फुलेन वसन्त कतै
छैन सुनाखरीको सुवास र सौन्दर्य
सुनिँदैन कोइलीको गीत
नाचेन मयूर रङ्गीन प्वाख फिँजाएर
अहँ, सुनिएन कतै
गोठलाहरूले पात बजाएको र
सुसेलीले सुरताल मिलाएको पनि
किनकि सुनसान रातमा पनि
हिँडेको छ यति बेला
बोकेर पेटको आगो
पूmल फुलाउने मान्छे
देश सिँगार्ने मान्छे ।
काठमाण्डू सहरदेखि झापामोरङ्ग सम्म
सगरमाथाको फेदीदेखि
कैलाली कन्चनपुर छिचोल्न
पिठ्यूँमा दुधे बालक र
पेटमा आगाको ज्वाला बोकेर
हिँड्दैछे फुलमायाँ पनि
सल्काउँदै आगो निस्पट्ट अँध्यारा रातहरूमै पनि
हो, हिँडदैछे रगताम्य पैतालका डोवहरू पार्दै
झोस्दै राँको सुनसान बस्ती र पखेराहरूमा
ऊः हेर त, आगो सल्किरहेछ
देखेनौ तिमीले ?
सुनेनौँ पेटको आगोको आवाज ?
यहीँ बाग्मतीको पुलमुनि पनि त
ओडेर कोरोनाको कहर
झिँजामिटा जोर्दैछ धनबहादुर
फुकिरहेछन् खल्तीमा सुको नभएका
केही धनबहादुर मालीहरू
पानीको नजिकै आगो
ऊ भन्छ जहाँ पुग्यो त्यही त बल्छ नि पेटको आगो
पानीमै पनि सल्किन्छ यो त
वाग्मती नै पनि जल्न सक्छ ह्रवाररह्वार्ती
र जल्न सक्छन् किनारका
अड्डा अखडा र हबेलीहरू पनि
हैट् कति खतरनाक हुँदोरहेछ आगो ?
वसन्तको आगो
पेटको आगो !
आगोले सिञ्चेर पनि कहीँ
फुल्न सक्छ र वसन्त ! ? !
२०७७ / १/९ हात्तीवन, ललितपुर
वि.सं.२०७७ वैशाख ८ सोमवार १०:०६ मा प्रकाशित





























