श्रमिकको पसीनाले नै ठूला महल र सडक बने, खाने अनाज उत्पादन भयो, औद्योगिक उत्पादन संभव भयो तर तीनै श्रमीकको जीवन उपेक्षित भइरहेको छ । विश्वमा श्रोत र साधनको असमान वितरण हुने संरचना भइन्जेल श्रमिकले श्रमको मूल्य पाउनेछैन । हिजो श्रमीकका पक्षमा निकै चर्का कुरा गर्नेहरु श्रमीकको भोटले सरकारमा पुग्न सफल भएका छन् । अब कुरा हैन काम गरेर श्रमिकका आंशु पुछ्ने मौका आएको छ । सरकारले कमसेकमः
१) आगामी बजेट गरी खाने किसान, मजदूर तथा श्रमिकको पक्ष पोषण गर्ने गरी तयार होस् ।
२) अनौपचारिक क्षेत्रका काम गर्ने कृषि मजदुर, निर्माण मजदूर, असंगठित क्षेत्रमा काम गर्ने भरिया, ठेलागाडा र रिक्सा चालक, अति बिपन्न, बिपन्न किसानहरुको लागि उचित ज्यालाको ब्यवस्था हुनु पर्दछ, साथै बिपत्तिको सामना गर्नका लागि बिभिन्न किसिमका लघु बीमाहरुः स्वास्थ्य बीमा, दुर्घटना बीमा, जीवन बीमा आदिको व्यवस्था गरोस् ।
३) मजदुरी गर्ने मात्रै होइन आज सुट टाई लगाई अफिसमा काम गर्नेहरु सबै भन्दा शोषित हुन पुगेका छन् । औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई श्रम ऐनले व्यवस्था गरे बमोजिमको पारिश्रमिकको ग्यारेन्टी होस् ।
४) देश बाहिर काम गर्ने असी लाख नेपालीहरु मध्ये अधिकांश मानिसहरु भारत र अन्य देशमा निकै कठिन श्रम गर्न बाध्य छन् उनीहरुको अवस्था चिन्ताजनक छ, देश भित्रै रोजगारीको सिर्जना गरि आफ्नै देशमा शिर ठाडो गरी काम गरेर खाने अवस्था सिर्जना गरोस् ।
५) किसानको पसीनाको मूल्य छैन, उत्पादनको मूल्य छैन, बिचौलिएबाट ठगीएका छन् । उनीहरुलाई न सम्मान छ न उनीहरुको उत्पानको उचित बजार छ । खासमा नेपालका किसानहरुलाई निकै पीडा छ । उनीहरुको लागि उचित नीति बनाई कार्यन्वयन गरोस्, सरकारी उत्पादनको संरक्षण गर्दै आयातलाई निरुत्साहित र बिस्थापित गरोस् ।
६) साना व्यापारी, उद्योगी, जागिरेलाई अत्याधिक करको भार परेको छ तर सो बमोजिमको राहत छैन, सुविधा छैन । उनीहरुलाई कर तिरेको अनुपातमा सामाजिक सुरक्षाको व्यवस्था गरोस् ।
७) सामाजिक सुरक्षा कोषले आम श्रमिकको हितमा काम गरोस् । विद्यमान असमान (सरकारी कर्मचारी र अन्य कर्मचारी बीचको फरक सुविधा) हितलाई समान बनाओस् ।
एक दिन मई दिवस मनाउने, र ३६४ दिन उनीहरुको दुःख हरण तर्फ ध्यान नदिने हो भने श्रमिक दिवसको शुभकामना दिनुको के अर्थ रहला ?
वि.सं.२०७७ वैशाख १९ शुक्रवार १२:५३ मा प्रकाशित






























