अचेल अभिभावक सन्तानका साथी भई खुलेर कुरा गर्छन् ।एक दिन बाले छोरासँग भन्नुभो, बाबू ! अचेल मान्छे निकै चलाख छन् । कति चलाख भने कागको फुल चोर्छन् । बाका कुरा सनेर छोरा चुप लागेरै स्कुल गए ।
अर्को दिन फरक सन्दर्भमा बाले सोझो तरिकाले गरिखान सकिँदैन है बाबू ! मेरा कुरा सम्झेका छौ नि ! बाका कुरा सुनेर कुन कुरा ? छोरा स्पष्ट हुन खोजे ! त्यही कागको फुल चोर्न सक्नुपर्छ । चलाख हुनुपर्छ भनेको कुरा नि ! सधैंका लागि दिएको सल्लाह एकै दिनमा बिर्सेको !! अँ, सम्झेँ बा भनेर छोरा स्कुलतिर लागे ।
उनी जाँदै थिए किराना पसलमा कुखुराको फुल देखे । उनलाई लाग्यो म कुखुराको फुलबाटै चलाख हुन सुरु गरुँ । उनले एउटा हैन दुइटा फुल चोरेर गोजीमा राखे । परबाट हेरिरहेका मान्छेले अन्डाचोर ! अन्डाचोर !! भनेर चिच्याउए, उनी समातिए । तुरुन्तै प्रहरीले लिएर गए । सोधीखोजी भयो । उनले अन्डा खान मन लागेर चोरेको जबाफ दिए । प्रहरीले उनैसँग नं लिएर बालाई फोन गरे । बाबा प्रहरी बिटमा पुग्नुभो । सोधपुछ गरेर छोरालाई पेटभरि अन्डा खान दिनु है ! भनेर पठाए ।
बाटोमा बाले भन्नुभो, तैंले त मेरो नाक काटिस् छोरा ! बाका कुरा सुनेपछि बाको अनुहार हेर्दै हँ , तपाईंको नाक त निधारमुनि, आँखाछेउ, ओठमाथि झुन्डिएको छ त !! कसरी काटेँ मैले ? अब यस्तो नचाहिने आरोप लाउन थाल्नुभो ? छोराका कुरा सुनेपछि बा रन्थनिँदै, ए लाटा ! साच्चै नाक काटेको हैन, इज्जत फालिस् भनेको ! य, त्यस्तो ? त्यस्तो त भइरन्छ । छोराले भरहन्छ भनेपछि त बा झन् छटपटिँदै ए ! त्यसो हैन, अब फेरि प्रहरीकहाँ बोलाएर नाक नकाट भनेको ! अँ किन नकाट्ने ? काट्छु नि ! तपाईंले मेरो नाक दिनदिनै काट्ने ! मैले तपाईंको किन बचाउने ? बा हैरान हुँदै मैले कसरी काटेँ तेरो नाक ? भनेर जङ्गिनुभो। छोरो पनि के कम ! किन काट्नुभएन ? मलाई घरबाट निस्केदेखि स्कुल पुग्दासम्म भेटिनेजतिले भ्रष्टाचारीको छोरो आयो, भ्रष्टाचारीको छोरो आयो भन्छन् ।
धन्न अहिलेसम्म स्कुलमा कसैले भनेको छैन !!
वि.सं.२०७७ वैशाख २२ सोमवार १९:२७ मा प्रकाशित






























