हिन्दुका विभिन्न थरहरु हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् । उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । त्यसैले गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन् । गोत्र कुल छुट्याउने एउटा भरपर्दो आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन । हिन्दु समाजलाई गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको थोरा, नाती, पनाति , खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । यसरी एक व्यक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर–बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर–बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ ।
यिनै विभिन्न गोत्रहरु मध्येको एक मौदगल्य गोत्र नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको गोत्र हो । नेपालमा बसोबास गर्ने कालिकोटे थापा, कोइराला, कुइंकेल, मुडुला कार्की, उप्रेती, सिंखडा, बेल्काणी, तिम्सिना, तिमल्सिना, बेल्बासे र बगालेको आदीको गोत्र मौदगल्य हो ।
श्रीमदभगवद्त माहापुराणमा उल्लेख गरिए अनुसार पांचाल नरेश भम्र्याश्वका जेठा छोरा हुनुहुन्थ्यो–मुद्गल । राज्य भोग गर्ने विषयवाट वैराग्य उत्पन्न भएपछी मुद्रलले तपाश्याको वाटो अवलम्वन गर्दै गोदावरीको किनारमा तपश्या गरेर व्रह्मत्व प्राप्त गर्नु भयो । माहापुराणको ३३ औ श्लोकमा भनिएको छ “मुद्रलाद् व्रह्म निवृत गोत्र मौतगल्य संज्ञितम” जन्मले मुद्रल क्षेत्री हुनुहुन्थ्यो तपश्यापछी उहाँमा व्रह्महत्व प्राप्त भयो र उहाँवाट कुलको सुरुवात भयो र उहाँका सन्तानहरुको गोत्र मौदगल्य भयो ।
भनिन्छ मौदगल्य गोत्रका थापाहरुको उद्गमस्थान स्थान नेपालमा चाही सुदूरपश्चिम नेपालको कालिकोट हो । त्यसैले यिनिहरुलाई कालिकोटे थापा भनेको होला । त्यसपछी गुल्मी जिल्लाको ह्वाङदीमा ठुलै ईतिहास पनि पाईन्छ र त्यसपछी काठमाडौको गोकर्ण र अहिलेको यो युगमा त नेपाल लगायत विदेशको घेरै ठाउमा कालिकोटे थापाहरु पुगिसकेका छन् ।

मौदगल्य गोत्रका परिवारको प्रत्येक वर्ष वैशाख पुर्णिमाको दिन कुलदेवताको पुजा अर्थात देवाली हुने गर्छ । (यो पटक वैशाख २५ गते परेको छ ) कुलदेवताको पुजाको लागि कर्म चलेका सवै अघिल्लो दिन देखी चोखो वसेर भोली पल्ट पुजा गरेपछी मात्र प्रशादको रुपमा खाना पान गर्दछन् । अहिले सम्मको जानकारी अनुसार गुल्मी र गोकर्णमा कालिकोटा थापाहरु वैशाख पुप्णिमाको दिन सम्भव भएसम्म दाजुभाईहरु जम्मा भई विधिविधानका साथ पुजा गरेर कुलदेवताको पूजा गर्ने चलन छ ।
कुलदेवी–देवता वास्तवमा कुल वा कुलको अभिभावक देवता हो । कुलदेवता परिवार वा वंश परम्पराको पहिलो देवता र मूल आधिकारिक देवता हुन् । त्यसकारण, पूजा वा तिनीहरूलाई महल्व दिए बिना, सबै पूजा र अन्य कामहरू व्यर्थ हुन पनि सक्छ । तसर्थ विवाह आदी कुनै पनि शुभ कार्यमा पहिला कुल देवताको पुजा गर्ने चलन छ र घरमा कुनै मिठो मसिनो पाक्दा पनि पहिलो कुल देवतालाई चढाउने गरिनेछ ।
हाम्रो परम्परामा कुल देवताको प्रभाव यति महत्वपूर्ण मानिन्छ कि यदि कुल देवता रिसाए भने कुनै अन्य देवीदेवताले कम गर्न वा हानि नोक्सानी रोक्न सक्दैन । विशेष गरी संस्कारिक मानिसहरूले दिनहुँ कुलदेवी देवताको पूजा गर्दछन् ।
मौदगल्य गोत्रको कुलदेवी वाणी हो अर्थात वाणिश्वरी देवी अन्नपूर्ण अवतार हो ।
मौदगल्य गोत्रको वेद यजुर्वेद र उपवेद घनुर्वेद हो यजुर्वेद वंशजको जेष्ठ सुपुत्रलाई र घनुर्वेद कनिश्ठ सुपुत्रलाई हस्तान्तरण गरिन्छ र यि दुवैलाई पूजा कोठामा राखिन्छ ।
मौदगल्य गोत्रको ईस्ट देवता शिव मानिन्छ ।
अन्तमा “कुलदेवताभ्यो नमः या कुलदेवीभ्यो नमः”
वैशाख पुर्णीमाको दिन वुद्ध जयन्ती पनि हो वुद्धले अहिंशाको ज्ञान दिनु भएको छ तर पनि कुलदेवताको पूजामा परम्परादेखी चलि आएको वलि दिने चलन कालिकोटे थापाहरुको अहिले पनि छ ।
(कोरोना भाईरसको कारण लकडाउनमा परेको वेला अनि विहिबार हुन गईरहेको कलदेवकाको पूजा अर्थात् देवालीको सम्झनामा खोजी गर्दा माथि उल्लेखित कुराहरु पाएकोले यति लेख्ने जमर्को गरेको हु । यि गलत रहेछन वा अन्य केही भएमा क्षमा प्राथि छु ।)
वि.सं.२०७७ वैशाख २५ बिहीवार १०:१६ मा प्रकाशित





























