मलाई आज
त्यो
इतिहास लेख्न मन छ
जो
धारा, पँधेरा, गोरेँटा र गल्लीहरू
ढिकी, जाँतो, मदानी
नाङ्लो, डालो र थुन्सेहरुले
भोगेका कथा ।।
पुरानो घरको छाँनो चुइँदा
आमाले थापेको डल्ले भाँडो
हँसिया, नाम्लो
डोको ,फरुवा
बरियो र पेचा
कतिले चलाए होलान्
कतिले बिगारे होलान्
बाबुले चलाएको
गबुवा, हल्लुण, हरिस
जोतारो फाली र अनौं
अनि ती एकहल गोरु
खोइ त !
कस्ले सम्झियो आज ?
हजुरबाले
रानीवनबाट बोकेर ल्याएको
त्यो निदाल र मूलथामले
कति सन्तान जन्मायो होला
कतिलाई आश्रय दियो होला
नत हजुरबाले बोकेको
निदालको इतिहास छ
नत हजुरबाकै इतिहास छ ।।
प्रविधिले जितेपछि मान्छे
हिजोलाई बिर्सिन्छ
र
हिजोले जन्माएको
इतिहासलाई बिर्सिन्छ
हिजोलाई बिर्सिनु भनेँको
आमा बिर्सिए जस्तै हो
सबैले भोगको
र
कसैले नदेखेको
हो त्यही
इतिहास लेख्न मन छ ।।
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५३ मा प्रकाशित