हाँसौं भन्दा नयन जलले भिज्न थाले परेली ।
थाम्ने केही मलम नहुँदा बग्न थाल्यो बलेसी ।
हेर्दा हुन्छन् सुखद मनले चट्ट राम्रा तरेली
राम्रो हुन्नन् प्रकृति वनका दुःख पर्दा जुरेली ।
माया भन्ने अलिकति कुनै निष्ठुरीमा हुँदैन ।
दिन्छन् पक्कै जलन गहिरो व्यर्थ कोही रुँदैन ।
तिम्रा छड्के अवयब सबै धार लाग्यो चुलेसी ।
देख्छौ तिम्ले जब छु म कहाँ नेत्र तिम्रा खुलेसी ।
तिम्रो धेरै सुख महलको हाँस्न बाहेक के छ ?
छात्तीमा ती धन मनसँगै टाँस्न बाहेक के छ ?
गर्दै चिल्ला बकफुस कुरा ढाँट्न बाहेक के छ ?
भत्ता थापी छनछन गनी साँच्न बाहेक के छ ?
तिम्रो उस्तो सदन ,घरमा काम देखिन्न केही ।
गर्छौ मात्रै अधिकन कुरा चोर औंलो उठाई ।
सारा स्वार्थी छ जड दुनियाँ लाग्न छाड्यो भरोसा ।
सोच्नै मैले सकिन अहिले गुम्न खोज्दैछ होस ।
मैले मात्रै दिनु किन यहाँ काममा यो जवान ।
माया बाँध्ने मन कुसुमको फाट्न थाल्यो रुमाल ।
हासी हाले मुसुमुसु कतै आँसु टल्किन्छ जैले ।
काँडै काँडा कदम कदमै हाँस्न पाईन मैले ।
मन्दाक्रान्ता छन्द
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५२ मा प्रकाशित