३० बैशाख, मुगु । मुगुमा कार्यरत वरिष्ठ पत्रकार सुमन मल्ललाई औषधिउपचार गर्न आर्थिक अभावले समस्या भएको छ ।
छायाँनाथ रारा नगरपालिका-१ श्रीनगर गाउँका ४२ बर्षीय मल्ल बिगत लामो समय सुगर रोगले थला पर्दै गएपछि उपचार गरि जीवन बचाउन कठिन भएको हो ।
रोगले थला पर्दै जाँदा मल्ल दुब्लाएर हिँडडुल गर्न नसक्ने अबस्थामा पुगिसकेका छन् । उनलाई सुगर रोग मात्र नभएर मानसिक रोग समेत देखा परेको चिकित्सकको भनाई छ । मानसिक रोगका कारण सोच्ने शक्तिमा कमी आएको छ भने अर्कोतिर पाचनक्रियामा पनि समस्या देखा परेको छ ।
मल्लको घरमा दुई छोरी र एक छोरा, श्रीमति र बुढी आमा छन् । छोराछोरी सानै उमेरका छन् । गरिबीका कारण घरबाट आर्थिक जुटाउन औषधिउपचार गर्न नसकिने भएपछि मल्लकी श्रीमति र आमा चिन्तित भएका छन् । उनी बिगत दुईबर्ष देखि औषधि सेवन गर्दै आएको भएपनि रोग न्यूनिकरण हुन सकेको छैन ।
‘रोगले थला पारिसक्यो, उपचार गर्ने पैसा छैन बालबच्चा साना छन्,’ मल्लकी श्रीमती गंगादेबि मल्लले भनिन्, ‘कसरी मेरा श्रीमानको जीवन बचाउने मुस्किल भयो ।’
रोगले च्यापेर थला पर्दै गएपछि गत फागुनमा मल्ललाई औषधिउपचारको लागि छायाँनाथ रारा नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेर नेपालगञ्ज मेडिकल कजेज लगिएको थियो, त्यहा“ करिव १५ दिन सम्म औषधि उपचार गरेर घर फर्केका मल्ल फेरि थला परेपछि केहीदिन अघि पुनः औषधिउपचारको लागि उनलाई जुम्ला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

मल्ललाई निशुल्क औषधिउपचारको लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक र जुम्लाका संचारकर्मीहरुले सहयोग गरेका थिए । उनको उपचार गर्न नसकिने भन्दै प्रतिष्ठानले पनि काठमाडौ रिफर गरेपछि झन् समस्या बल्झिएको परिवारको भनाई छ ।
अर्कोतिर लकडाउनका कारण मल्ललाई थप उपचार गर्न काठमाडौं लैजान जटिल समस्या उत्पन्न भएको मल्लकी श्रीमती गंगादेबिले बताईन् । अहिले उनलाई घरमै राखेर औषधि खुवाइएको परिवारले बताएको छ ।
सुमनलाई औषधि उपचार गरि जीवन बचाउन आर्थिक अभावका कारण मुश्किल भएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल बताउछन् । उनको जीवन रक्षाको लागि सबैले सहयोग गरिदिएमा मल्लको जीवन बाच्ने अध्यक्ष मल्ल बताउँछन् ।

जिल्लाका स्थानीयतहलाई मल्लको औषधि उपचारको लागि आर्थिक सहयोग गरिदिन महासंघले अनुरोध गरे पनि अहिले सम्म कतैबाट रकम जुट्न नसकेको अध्यक्ष मल्लको भनाई छ ।
मल्ल नेपाल पत्रकार महासंघ मुगु शाखाका निर्बमान अध्यक्ष पनि हुन् । २२ बर्षको उमेरदेखि पत्रकारिता क्षेत्रमा संलग्न भएका मल्लले राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडिया क्षेत्रको अनुभव बटुलीसकेका छन् ।
बिगत केहीबर्ष यतादेखि मुगुबाट उनी नागरिक दैनिकमा प्रतिनिधिको रुपमा कामगर्दै आएका छन् । मल्ल केवल पत्रकार मात्र नभएर कथा निर्देशक तथा सामाजिक रुपान्तणको लागि एक अभियान्ता पनि हुन् ।
‘सुइना कर्णाली’ र ‘दख्नि बग्दछ कर्णाली’ नाटकका लेखक तथा निर्देशक समेत उनको निर्देशन रहेकोे सुइना कर्णाली नाटक काठमाण्डौंस्थित गुरुकुलको हलमा प्रदर्शन गरिएको थियो । उक्त नाटकले त्यतिबेला अत्यन्तै चर्चा परिचर्चा पाएको थियो । उनले सुइना कर्णाली नाटकमा हुडकेको भूमिका निर्बाह गरेका छन् ।
यस्तो छ मल्लद्धारा लिखित ‘सुइना कर्णाली’ नाटक
वि.सं.२०७७ वैशाख ३० मंगलवार १०:०१ मा प्रकाशित






























