विश्वमा महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या र त्यसबाट मृत्यु भएकाहरूको गणना गर्दै आज डरैडरको पोकोझैं भएका छौँ हामी । यो बेला हामी कोही पनि पूर्ण रूपमा सूरक्षित छैनौं र एउटा यस्तो अवस्थाबाट गुज्रिरहेका छौं जहाँ हामी पाइला–पाइलामा सचेत र सूरक्षित रहनु आवश्यक छ ।
यति मात्र होइन, यो बेला न त हामीले हिँड्ने डुल्ने गर्न पाएका छौँ न त भोलिको निम्ति भन्दै योजना बनाउने जाँगर नै छ हामीमा । आफ्नै शब्द, सोच र कल्पनाले आफैंलाई सन्तुष्टि नदिएको बेला के हुन्थ्यो र सिर्जना पनि, धेरै लेखकहरू मात्र बन्न सक्ने साहित्य बटुलेर लेख्नको लागि उचित समय र वातावरणको प्रतीक्षामा छन् । अनि गाएर, बजाएर, नाचेर, हसाएर र बोलेर पनि उदासजस्ता देखिन थालेका छन् हिजोआज गायक, सर्जक र कलाकारहरू पनि ।
हिजो समय छैन भन्नेहरू आज समय देखेरै अतालिएका छन्, हिजो नाफामा रहेका कतिपय व्यापारीहरू आज व्यापार व्यवस्थापन र वृद्धि कसरी गर्ने भन्ने चिन्तामा छन् । हिजो घर बस्नै पाइएन अथवा परिवारलाई दिने समय नै छैन भन्नेहरू आज कहिले घरबाट बाहिर निस्कने होला भन्दै छन् । हिजो बिदेशिएकाहरू केही स्वदेश फर्किएका छन् भने कति धेरै फर्कने तयारीमा छन् । हिजो दिनदिनैजसो भेटेर चिया गफ गर्नेहरू आज टाढिएका छन् अनि हिजो हरेक वर्ष हजारौं लाखौं खर्च गरेर सानाठूला भोज गर्नेहरूको इज्जत गर्ने मनोदशा आज कसैमा छैन ।
लक्डाउनका सुरूका केही हप्ताहरूमा हरेक दिन घण्टा दुई घण्टामा फेसबुकमा केही न केही पोस्ट गरि रहनेहरूको दैनिक पोस्टको सङ्ख्या घट्न थालेको छ । धेरै क्षेत्रहरू अनुत्पादक क्षेत्र भएका छन् । कतिको लगानी डुबेको छ, समय अभावको कारण गर्न नभ्याएका कामहरू गरि सक्यौं, किताबहरू पढी सक्यौं र नयाँपुराना चलचित्र पनि सबैसबै हेरि सक्यौं ।
यसरी कोरोनाले आफू हुर्किएर एउटा शून्यता जन्माएको छ । एउटा यस्तो शून्यता, जस्ले हामीलाई हामीले भुलेको मृत्यु र जीवनको महत्व सम्झाएको छ । प्रकृतिलाई समेत आफ्नो इशारामा नचाउन खोज्ने हाम्रो मुर्खताको असर देखाइदिएको छ । भीडको पछि लागेर होइन आफ्नै स्वधर्ममा जिउने प्रण गर्न भन्दै छ र एउटा अध्यात्मीक झिल्को सबैभित्र बालेको छ । अब आउने दिनहरूमा कोरोनाले जन्माएको शून्यतालाई मनन गरेर प्रत्येक पल होसपूर्वक जिउने कि फेरि पनि विवेक बिर्सिएर मात्र बुद्धिको दम्भमा दौडिने, निर्णय र सो अनुसारको भोलि हाम्रै हातमा छ ।
आज हामी मान्छेहरू आफ्नै घरभित्र थुनिएझै बसि रहदा अरू प्राणीहरू भने रमाइरहेका छन् । ती प्राणीहरू, जो शान्त भएर प्रकृतिसङ्गको मैत्रीमै आफ्नो सर्वस्व खोज्छन् र पाउछन् पनि । त्यसैले अब विगतबाट सिकेर बर्तमानको अकाट्य शून्यतालाई सहि दिशा दिनु छ र फेरि बालबालिकाहरू झैँ निश्चल व्यवहार र पवित्र भावनाले बाचेर हेर्नु छ जीवनको एउटा बिल्कुलै नयाँ अनुहार ।
वि.सं.२०७७ जेठ २ शुक्रवार १५:०३ मा प्रकाशित