४ जेठ, युएई । कोरोना संक्रमणबाट युएईमा मात्रै ९ नेपालीको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (१६ मे २०२०) साँझसम्म युएईमा मृत्यु हुने नेपालीको संख्या ९ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले जानकारी दिएको छ ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार प्रवासमा मृत्यु हुने नेपालीमा सबैभन्दा बढी बेलायतमा ६३ जना, दोश्रोमा अमेरिका १५, युएई -९ साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जना रहेका छन् । समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ ।
यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।
अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन् ।
संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ । उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककोमा वा संघको स्वास्थ्य सेवा हटलाईनमा सम्पर्क गर्न आव्हान गरेका छन् ।
कुन देशमा कति छन् त संक्रमित ?
स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार १४:२८ मा प्रकाशित






























