कोरोना भाइरस (कोभिड-१९) विश्वभरी नै महामारीको रुपमा फैलिएको अवस्थामा समग्र विश्वको अर्थतन्त्रमा नकारात्मक सर्किट लागेको छ । प्रायजसो देशको अर्थतन्त्र भताभुङ्गकै स्थितिमा पुगेको छ । विश्वका उच्च अर्थतन्त्र भएका देशहरु पनि यस महामारीको असरबाट जोगिन सकेका छैनन् भने नेपालजस्तो अत्यन्त न्यून आय भएको देश कोरोनाको प्रकोपबाट अछुतो रहने कुरै भएन । नेपालको अर्थतन्त्रको कुरा गर्ने हो भने रेमिट्यान्सले धानिएको देशको रुपमा परिचित रहेको र रेमिट्यान्स बाहकहरु नै विभिन्न देशमा समस्यामा परिरहेको अवस्था छ । विश्वस्वास्थ्य संगठनले भनेको कुरामा आधारित हुने हो भने रोगको अन्त्य अनिश्चित जस्तै नै छ । यो रोगको रोकथामका लागि ठोस औषधि पत्ता लागिसकेको छैन् ।
नेपाली युवाहरु छिमेकी देश भारत लगायतका अन्य देशहरुमा उच्च जोखिमका साथ काम गरिरहेका छन् । भारत सहित खाडीका देश र मलेसिया लगायतका देशमा ७० देखि ८० लाखको हाराहारीमा युवाहरु रोजगारीका लागि विदेशी भूमिमा पुगेका छन् । हाल विश्वमा आएको कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्र नै तहस नहसको स्थितिमा पुगेको छ । लाखौ लाख मानिसहरुको रोजगारी कटौती भएका समाचारहरु प्रकाशित भइरहेको अवस्थामा त्यसको प्रत्यक्ष असर नेपालीहरुमा पनि परिरहेको छ । कोरोना महामारीले अति प्रभावित बनेका देशमा अहिले सिमित रोजगारी भएको र उनीहरु आफ्नो देशका नागरिकलाई नै पहिलो प्राथमिकता दिइरहेका छन् भने धेरैजसो देशले त आप्रवासीलाई रोजगारी नदिने भनेर घोषणा नै गरिसकेका छन् । साथै आर्थिक मन्दिका कारण ३० प्रतिशत भन्दा माथि रोजगारीका अवसरहरु गुम्ने विश्वका अर्थ विज्ञहरुले भनिरहेका छन् छन् ।
एकातिर कोभिड १९ बाट प्रभावित र रोजगारी कटौती भएको जनशक्तिलाई व्यवस्थापन गर्नुुपर्ने पनि राज्यलाई तत्कालका लागि चुनौति देखिन्छ भने अर्कोतिर छिमेकी देश लगायतका देशमा रहेका नागरिक छिटोभन्दा छिटो देश फर्कन पाउनुपर्ने भन्दै सरकार गुहारिरहेका छन् । भारतमा तिब्र रुपमा बढिरहेको कोरोना संक्रमण र त्यहाँ मजदूरी गरिरहेका नेपाली युवाहरु यतिबेला आटो पिठो नै खाएर किन नहोस्, आफ्नो देशमा शान्तिको सास फेर्ने भन्दै देशका चारैतिरका नाकामा आएर खुला आकासमुनि भोकभोकै अवस्थामा बस्न बाध्य भएका छन् । नेपाल सरकार र भारत सरकारले नाकामा आएका नेपालीलाई खान तथा सुरक्षाको बन्दोबस्तसहित त्यहिको क्वारेन्टाइनमा राखिएको भनेर बाहिर भनिएपनि भनेजस्तो सहज अवस्था नभएको उनीहरुले विभिन्न संचारमाध्यम र सामाजिक संजालको माध्यमबाट बताइरहेको पाइएको छ ।
त्यस्तै, खाडी मुलुकमा कार्यरत युवाहरुको पनि त्यस्तै अवस्थामा छ । खाडी मुलुक युएई, कतार, बहराइन लगायतका देशमा कोरोना संक्रमितको संख्या दिनहुँ १ हजार भन्दा माथि पुगिरहेको अवस्था छ । तत् देशमा कार्यरत नेपाली कामदाहरु यतिबेला कतै लकडाउन त कतै कफ्र्युको मारमा परेका छन् । कतिपय त खानै नपाउने अवस्थामा रहेको भन्दै नेपाल सरकारको अभिभावकत्व खोजिरहेका छन् । उनीहरु पनि अहिलेसम्म विदेशमा हासिल गरेको सीप, जाँगर आफनै माटोमा पोख्न चाहान्छन् । विभिन्न तथ्यांकले खाडी मुलुकमा रहेका झण्डै ४० प्रतिशत नेपाली देश फर्कन चाहेको बताइरहेका छन् । यतिबेला ती नेपालीहरु त्यहाँ रहेका नेपाली दूतावास लगायत सरकारका विभिन्न निकायमा पुगेर आफू आफ्नै खर्चमा देश फर्कन चाहेको र देश फर्किएर क्वारेन्टाइन लगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी सरकारका सबै नियम पालना गर्न तयाररहेको भन्दै ढोका ढकढक्याइरहेका छन् ।
यस्तो अवस्थामा नेपालमा मात्रै नभएर विदेशमा रहेका नेपालीले पनि सरकारको बलियो अभिभावकत्व पाउन नसकेको महसुस गरिरहेका छन् । यतिबेला राज्यले आफू अभिभावक भएको महसुस गराएर दुःखीरहेको घाउमा मल्हम पट्टी लगाएर जनतालाई अभिभावकत्वको महसुस गराउनु पर्ने हो तर सरकार निरही र लाचार जस्तो देखिएको छ । जीवन र मरणको दोसाँधमा रहेका नेपालीहरु आफ्नो मातृभूमी पुकारीरहेका छन् । यतिबेला देशमा लाखौं नेपाली बस्न मिल्ने क्वारेन्टाइनको व्यवस्था गरेर तत्काल देश फर्कने चाहने नेपालीहरुलाई फर्काउने व्यवस्था सरकारले गर्नुपर्ने हो, तर सरकार ‘जहाँ छौं त्यहि सुरक्षित बस’ भन्दै रनभुल्लमा परेको देखिन्छ ।
यस्तो संकटको घडीमा सम्पूर्ण लोभ–लालच र शक्ति–सत्ता भन्दा माथि उठेर तीन करोड नेपाली जनता र देशलाई कोरोनाको भयावह र विकराल अवस्थाबाट जोगाउँदै विदेशमा भएका नेपालीहरुलाई आफ्नो देशमा फर्कन सहज वातावरण बनाउनु राज्यको दायित्व हो । यतिबेला सरकारले संक्रमित सोचसहितको दम्भ त्यागेर फराकिलो छाति बनाएर सर्वदलिय सभा बोलाएर तत्काल नेपाल र नेपाली जनतालाई जोगाउन ठोस रोडम्याप बनाएर कदम चाल्न जरुरी भइसकेको छ ।
वि.सं.२०७७ जेठ ५ सोमवार ११:०९ मा प्रकाशित






























