१२ जेठ, काठमाडौँ । लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत महसुल सङ्कलन गर्ने भन्ने नेपाल विद्युत प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीका बीचमा विवाद देखिएको छ ।
प्राधिकरणका क्रियाशील कर्मचारीको आधिकारीक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनले संस्थाको निर्णयअनुसार सम्पूर्ण सुरक्षा प्रबन्ध गरेर काम गर्न तयार रहेको बताइरहेको बेला प्राधिकरणमा क्रियाशील कर्मचारी संघले भने यो विषयमा आपत्ति जनाएको छ ।
प्राधिकरणमा क्रियाशील कर्मचारी सङ्घले विषम अवस्थामा कोरोनाका अति प्रभावित क्षेत्रमा समेत महसुल सङ्कलन काउण्टर खोलेको र कर्मचारीलाई जोखिमपूर्ण काम लगाएको भन्दै आपत्ति जनाएको हो । सङ्घका अध्यक्ष जनार्दन भट्टराईले सङ्क्रमण बढी भएका स्थानमा सावधानी नपनाई बढी भिडभाड हुने गरी कर्मचारीलाई काममा लगाइएको भन्दै विज्ञप्तिमार्फत प्राधिकरणको काम गर्ने शैली गलत भएको जिकिर गरेका छन् ।
सङ्घले देशभर लकडाउन रहेको र अति आवश्यक सेवाबाहेकका सम्पूर्ण सरकारी कार्यालयका कामकाज बन्द गरिएको भन्दै महसुल सङ्कलन र मिटर रिडिङको काम गर्न नहुने दाबी गरेको छ ।
आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वरप्रसाद पौडेल भने विपद्को समयमा व्यक्तिगत सुरक्षाका सम्पूर्ण उपाय अपनाएर काम गरिरहेको बताइरहेको बेला केही कर्मचारीहरुले भने काउन्टरमा देखिएको भिडको तस्बिर पोस्ट गर्दै कार्यक्षेत्रमा खटिरहेका कर्मचारीको मनोबल गिराउने र भ्रम फैलाउने काम भएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
यूनिएन संयोजक पौडेलले उच्च मनोबलका साथ अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिएका कर्मचारीहरुलाई भ्रमित पार्ने, विद्युत महशुस संकलन कार्यको विरोध गर्ने, कर्मचारीहरुको मनोबल गिराउने, युनियन तथा नेपाल विद्युत प्राधिकरणको लोगेको अनाधिकृत प्रयोग गरी सामाजिक सञ्जाल मार्फत विभिन्न भ्रामक र उत्तेजनापूर्ण अभिव्यक्तिहरु दिने जस्ता क्रियाकलापहरु कोही कसैबाट नगर्न/नगराउन आग्रह समेत गरेका छन् ।
प्राधिकरणका कर्मचारीको हकहित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन सदैव कटिबद्ध रहेको र प्रतिबद्धताका साथ लागि परेको जानकारी दिँदै उनले सङ्कटको समयमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर काम गर्न आफूहरु तयार रहेको बताएका छन् ।
लकडाउनका कारण महसुल सङ्कलन काउण्टर बन्द हुँदा महसुल उठ्न सकेको छैन । महशुस संकलन गर्न नसकिए कर्मचारीलाई असार महिनाबाट तलब खुवाउन समेत समस्या हुने स्रोतको भनाइ छ । यो विरोध प्राधिकरणको हितमा भन्दा पनि कर्मचारीको मनोबल गिराउने र व्यवस्थापनलाई असफल पार्ने नियतबाट गरिएको हो भन्ने सो स्रोतको दाबी रहेको छ ।
प्राधिकरणको आधिकारीक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनले अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिने स्थायी, म्यादी, करार, ज्यालादारी र गोटा गन्तीका मिटरमिटर रिडरलगायतका कर्मचारीले सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्देशनबमोजिमका स्वास्थ्य सुरक्षाका विधि अनाएर सुरक्षित तबरले काम गर्न सबै कर्मचारी तयार भएको जनाएको छ । प्राधिकरणका क्रियाशील सबै ट्रेड युनियन र व्यवस्थापनबीच गत वैशाख २४ गते संयुक्त छलफलमा सहमति भएको थियो ।
सो छलफलका आधारमा प्राधिकरणले उत्प्रेरणात्मक सुविधा प्रदान गर्ने, सबै कर्मचारीलाई बिना भेद्भाव जोखिम भक्ता उपलब्ध गराउने, स्वास्थ्य बीमा गर्ने र आरडिटी तथा पिसिआर पद्धतिबाट स्वास्थ्य परीक्षण गर्नेलगायतका विषयमा प्रक्रिया अगाडि बढेको पौडेलले जानकारी दिए ।
वि.सं.२०७७ जेठ १२ सोमवार १९:१० मा प्रकाशित






























