सुविधाभोगी चिन्तनबाट सधै टाढा रहने गुणले अझै उहाँलाई ओजश्वीपूर्ण बनाएको थियो। मुलुकको कम्युनिष्ट आन्दोलनमा देखापर्ने गरेका तमामखाले विकृति, विसङ्गतिहरूको उहाँले सधैभरी विरोध गर्दै आउनु भयो । जनताको बहुदलीय जनवादलाई नेपाली माटोमा हुर्काउन उहाँ निरन्तर लाग्नुभयो । उहाँ आजीवन प्रतिक्रियावादीहरुको विरुद्ध आक्रोशको ज्वाला दन्काई रहनु भयो ।
समयले गति लिंदा फड्को मार्छ । दिन रात हुन्छ र रात दिन हुन्छ । सानो ठुलो हुन्छ, ठूलो बूढो अर्थात् पुरानो हन्छ र त्यो एकदिन अन्ततः ढलेर शेष हुन्छ । मानव जीवनको कहानी पनि यसरी नै अगाडि बढ्छ । यो कुनै दैवीशक्तिको चमत्कार नभएर प्राकृतिक नियम हो । तर कहिलेकाहीं प्रकृतिले पनि खेलवाड गर्दो रहेछ । मानव जीवनमा एक्कासी हुण्डरी तूफानरुपी वेगमा आउँदो रहेछ । विजलीको चडकनझैँ चढ़किएर जो लामो समय बाँच्नै पर्ने थियो, जसको आवश्यकता राष्ट्र र जनतालाई थियो, उसैलाई चटक्क टिपेर सारा परिवेशलाई अन्धकार पारेर लांदो रहेछ । कति क्रूर हुँदो रहेछ काल ! जो मनै पर्ने थिए, ती बाँचीरहेका छन्, तर जो बाँच्नै पर्ने थिए, तिनी आज मरिरहेका छन् । जो राष्ट्र र जनताको लागि लड्दा लड्दै मरे, उनी आज मरेर पनि बाँचिरहेका छन् । तिनै लड्दा-लड्दै मर्ने योद्धाहरूमध्येका एक मुक्तियोद्धा हाम्रा बीचबाट मृत्युको कालचक्रमा परेर एक्कासी हराउनु भएको छ । २०५३ जेठ २५ गतेको मध्यरातमा ४९ वर्षको अल्पायु उमेरमैं रुपन्देही जिल्ला क्षेत्र नं. २ का प्रभावशाली सांसद, मुलुककै बौद्धिक व्यक्तित्व तत्कालिन नेकपा (एमाले) केन्द्रीय न्याय कमिटीका सदस्य एक प्रभावशाली अधिवक्ता, श्रमजीवी जनताको न्यायको खोजीमा लडिरहने एक होनहार योद्धा, विलक्षण प्रतिभाका धनी आदरणीय दाजु धनपति उपाध्याय एउटा ठूलो पहाड ढलेझै नेपाली जनताको बीचबाट सदासदाका लागि जानुभयो, बिदा हुनुभयो । आज वहाँको निधन भएको २४ बर्ष बितिसकेको छ । म वहाँको सम्झनामा केही लेख्ने जमर्को गर्दैछु ।
नामले धनपति भनेर चिनिए पनि उहाँसँग त्यो नाम परस्पर विरोधी बनेर देखापर्यो । शायद ! वहाँ धन कमाउनै चाहेको भए करोडौं रुपैयाँ कमाएर नाम अनुसारकै आर्थिक सम्पन्न एक धनाढ्य व्यक्ति बन्नु हुन्थ्यो । तर वहाँले त्यो कहिल्यै चाहनु भएन। उहाँ नामले धनपति भएर पनि आजीवन विद्यापति बनिरहनु भयो । एउटा सामान्य विपन्न पिछडिएको परिवारमा जन्मीएर रोजगारको खोजीमा वाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिका -१ कुस्मी शेरा, टुनिवोट भन्ने गाउँ छोडेर मुग्लान पसेका बाबा केशव दत्त उपाध्याय भारतको आसाम राज्यमा पुगि श्रमिकको जीवन बिताउन थाल्नुभयो । कठोर परिश्रमबाट आफ्नो २ छोराहरू र एक छोरी तुलाराम उपाध्याय, धनपति उपाध्याय र विष्णुमाया उपाध्यायलाई लालनपालन गर्दै अगाडि बढनु भयो । एक श्रमिक बाबुका ३ सन्तान मध्येकै एक सन्तान हुनुहुन्थ्यो दाजु धनपति उपाध्याय !
श्रमको फल मीठो हुन्छ भनेझै, हाईस्कूलमा पर्दा कहिले प्रथम कहिले द्वितीय हुँदै S.L.C. को परीक्षामा आसाम राज्यकै टप-टेन विद्यार्थी मध्ये एक बनेर अगाडि बढ्दै जाँदा अंग्रेजी साहित्य एम.ए .र रसायन शास्त्र पनि एम.ए . सम्मको अध्ययन गरी बुवा केशवदत्त उपाध्यायको नोकरीबाट अवकाशपश्चात् उहाँ आफ्नै मातृभूमि नेपाल फर्किनु भयो । अन्याय र अत्याचारविरुद्ध कानूनी हतियार बोकेर अघि बढ्ने दृढ संकल्पसहित कानूनको अध्ययन शुरु गर्नुभयो । एक मेधावी विद्यार्थी तथा विलक्षण प्रतिभाका धनी श्री उपाध्याय नेपाल ल क्याम्पसबाट वी .एल. प्रथम श्रेणीमा उत्तीर्ण गरी स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त गर्नुभयो । त्यसपछि उहाँले केही समय काठमाण्डूमा कानून र अंग्रेजी विषयको प्राध्यापन पनि गर्नु भयो । त्यतिबेला नै आफूभन्दा कमजोर एक विद्यार्थीलाई सरकारबाट विदेशमा अध्ययन गर्न पठाइएकै कारण आफु अन्यायमा परेको देखेर, न्याय पढाउने मान्छे नै अन्यायमा परेपछि के को न्याय पढाई रहने ? भनि सरकारी जागिरबाट राजीनामा दिई आफ्नो स्वाभिमानको परिचय दिनुभयो । त्यसपछि कहिल्यै सरकारी जागिर नगरी नीजि कानून व्यवसायी (वकिल) को रुपमा अगाडि बढनु भयो र मुलुककै प्रसिद्ध कानुन ब्यबसायी (अधिवक्ता ) को रुपमा आफूलाई चिनाउनु भएको थियो।
म बाल्यकालमा स्वयं दाजु धनपति उपाध्यायसंग भैरहवामा करीव ३ वर्ष बसेको अनुभवले पनि उहाँको बारेमा धेरै कुराहरू जानकार राखेको छु । भैरहवाको प्रहरी टोलनेर कानून परामर्श केन्द्र (LEGAL CONSULTATION CENTRE) नाम गरेको साइनबोर्ड झुण्डिएको एक कार्यालय थियो । त्यहाँ अन्य सहयोगी वकिलहरू अधिवक्ता कमल र रेशम सरहरु हुनु हुन्थ्यो । (वहाँ हरुको थर थाहा भएन) त्यही कार्यालयमा उहाँको क्षमता देखेर, सुनेर मानिसहरू टाढा-टाढाबाट पनि आउने गर्थे । खचाखच मानिसहरूको संधै भिड लाग्थ्यो । त्यहाँ आउने विविध प्रकारका मुद्दामा जहाँ आफ्ना गहकिला तर्क सुनाउनु हुन्थ्यो । जसकसैलाई पनि उहाँ बिना हिचकिचाहट कानूनी परामर्श दिने गर्नु हुन्थ्यो । स्थानीय रुपमा रुपन्देही जिल्लाका थारू जातिहरू वकिल साहव बाटें ? (वकिल साहव हुनुहन्छ ?) भन्दै आफ्ना मुद्दा- मामिलारुपी समस्या बोकेर आउने गर्थे । अत्याचार र गरीवीमा पिल्सिएका जनतालाई उहाँ निःशुल्क कानूनी सेवा पुर्याउनु हुन्थ्यो। मान्छेहरू उहाँको सेवा, सहयोगी भावना देखेर, खुसिले आफ्ना घरमा पालेका कुखुरा, घरमा बनाएका चिउरा, भेली, तरकारीहरू लिएर आउथे। तर दाजी धनपतिले ती सबै कुराहरू नकार्नुहुन्थ्यो र फिर्ता पठाउनु हुन्थ्यो । म त्यतिवेला करीव ११-१२ वर्षको थिएँ। यस्ता थुप्रै दृष्यहरु टुलुटुलु हेरिरहन्थे। भित्रभित्रै मेरो मनमा त्यति गरेर ल्याएका सामानहरू फिता नगरे पनि त हुन्थ्यो नी ! भन्ने लाग्दथ्यो । तर भन्ने हिम्मत मेरो थीएन तरपनि मनमा लागेको कुरा गर्नैपर्ने, भन्नैपर्ने मेरो तत्कालीन चञ्चले स्वभावले गर्दा बुबा केशवदत्तसंग भनेरै छाडें । किने हो बुवा ? यसरी आफ्नै घरमा बनेका सामाग्रिहरु उपहारस्वरुप ल्याईदिंदा दाजिले फिर्ता पठाउने ? कतिपय मान्छेहरूलाई निःशुल्क मुद्दा लड्ने ? भनेर सोध्दा तेरो दाई धने यस्तै भयो । के गर्ने र ? पढेर मात्र हुँदो रहेनछ। आज यो संगका साथीहरू कति धनी भइसके । तर खै लामो स्वास फेर्दै , यसले त एउटा घर पनि बनाउन सकेको छैन । सबै कुरा अरुलाई सहयोग भन्दैछ । तर भोली यसलाई परी आउँदा कोही हुने छैनन । त्यतिबेला थाहा पाउनेछ भन्नुभयो एकदिनको कुरा हो। एकजना तराईवासीले मुद्दा जिताई दिएवापत उपहारस्वरुप एउटा कुखुराको भाले, केही चिउरा र तरकारी लिएर आएका थिए । संयोगले दाजु र भाउजु पुष्पाञ्जली कतै बाहिर जानुभएको थियो । घरमा बुवा र म मात्र थियौं ।
उमेरले र सम्बन्धले हामी बाबु-छोरा भए पनि त्यो घरको वातावरणले गर्दा हामी २ जना परमप्रिय मित्र जस्ता थियौं । बुबाले मसंग धेरै कुरा मन खोलेर गर्नुहुन्थ्यो । त्यतिबेला पनि मसँग भन्नुभयो हेर टीका तेरा दाई धनेलाई नभनेस् है। थाहा पाए रिसाउछ । विचरा दयामायाले आफ्नै घरमा बनेका सामाग्री ल्याइदिएको छ। नलिदा उसलाई (ल्याउनेवालालाई) पनि त दुःख लाग्छ । अपमान गर्न हुन्न, भन्दै राम्रै अभिप्रायले उपहार ल्याइदिने मान्छेलाई भन्नुभयो। अच्छा क्या क्या लेकर आए हो भैया ? उनले प्रत्युत्तर आफ्नो भाषामा भाले, चिउरा र तरकारी ल्याएको बताए । बुबाले आइन्दा लेकर नहीं आना । ए सब वकिल साहव पसन्द नहीं करता, भन्दै चिउरा र तरकारीहरू लिनुभयो । तर कुखुराको भाले भने बुबा बढी धार्मिक परम्पराको भएकोले “शिव ॐ” भन्दै यह तो हम नहीं खाता है’ भन्दै फिर्ता गर्नुभयो । म त्यतिबेला दाजुलाई भन्दिन त भने । तर एकदिन साँचो कुरा नभनी रहन सकिन। दाजु धनपतिलाई उक्त घटनाको सबै विवरण भनिदिए। उहाँ तत्काल बुबा बस्ने कोठामा जानुभयो । एकदमै रिसाएर भन्नु भयो । तपाईंलाई मैले के कुरामा कमी राखेको छु र बा ? अस्ति ती विचरा गरीब मान्छेसंग किन चिउरा, तरकारी लिनुभयो ? यसरी मेरो वदनाम नगर्नोस् बा भनेर फर्किनु भयो। प्रत्युत्तरमा बुबा केही पनि बोल्नु भएन । त्यसपछि शायद बुबा पनि कसैसँग केही लिनु भएन ।
अर्को एउटा घटना पनि यहाँ उल्लेख गर्न मन लाग्यो । २०५१ सालको मध्यावधि निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट चुनाव जितेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भन्नुभएको थियो । उहाँ सांसद रहेकै समय म प्रवासबाट घर विदामा स्वदेश गएको थिए । त्यतिबेला मेरो साइलो भाई नेत्र पौडेल को लागि लोकसेवामा शिक्षकको लागि सिफारिस गरीदिन अनुरोध गरेका थिए । जताततै चारैतिर नातावाद , कृपावाद हावी भएको देखे-भोगेका उनले दाजु धनपतिले सहयोग गरिदिए हुन्थ्यो नि ! भन्ने आशा पालेका रहेछन् । त्यो कुरा मसंग पनि राखे । मैले पनि ठीकै हो , हुन्छ भनेर दाजु सँग कुरा राखें र बागलुङ्ग जिल्ला शिक्षा अधिकारीलाई भन्न लगाउँला भन्दै भैरहवातिर लागे । दाजु धनपतिलाई भेटेर कुरा राखें भाउजु पुष्पाञ्जलीलाई पनि दाजुलाई भनिदिन आग्रह गरे। तर दाजुले मैले सोचेभन्दा फरक कुरा गर्नुभयो । हेर भाई। अहिले हामी चारैतिर कांग्रेसीकरणको विरोधमा उत्रेका छौं । नातावाद-कृपावादको विरोध गरेका छौं । पार्टीले चारैतिरबाट काङ्ग्रेसीकरणको विरोध गरेको छ । यस्तो बेलामा म कसरी एउटा सांसदको नाताले मेरो भाईलाई नोकरी चाहियो भनेर शिर झुकाउं ? अहिले म चाहेमा काम सफल त होला नै । तर भोली म पनि त उनीहरूका काम गरीदिनु पर्छ । म पार्टी बदनाम हुनेखालको काम गर्दिन । तिमी अन्यथा नसोच । दुःख पनी नमान । मेरो अरुसंग शिर झुकाउने र आफ्नो काम पटयाउने आदत छैन । म त संधै प्रतिस्पर्धामा जान चाहने मान्छे हुँ भन्दै आफ्नो विद्यार्थी काल देखि कानून व्यवसायी बन्दासम्मका संस्मरणहरू सूनाउन भयो र अरुलाई सिफारिसको अनुरोध भन्दा बरु भाईलाई म पढाउँछ । यही मसंग पठाइदेऊ राम्रो पढ़ाई पछि हरेक ठाउँमा प्रतिस्पर्धामा जान सकिन्छ भन्नुभयो । दाजुका उपरोक्त भनाइले मलाई कता हो कता पूरायो। धेरै सोच्न बाध्य बनायो। यो स्वार्थी दुनियाँमा कति महान व्यक्ति । कति पवित्र उद्देश्य । मनमनै धन्यवाद व्यक्त गर्दै सोचें ! के हाम्रो मुलुकमा यस्ता अरु धनपतिहरू पनि होलान् कि नहोलान ?
दाजु धनपतिको सवारी साधन भनेको रिक्साको टायर राखेको पुरानो एउटा साइकल थियो । आफ्ना साथीहरूलाई महलवादी तथा पजेरो संस्कृतिको प्रभाव पर्दा उनीहरू ठुला महलमा बस्दा र पजेरोमा गुड़दा उहाँ थोत्रो साइकलमा खुइलो तालु भएको टाउको बोकेर सेतो कुर्ता र पाइजामामा मुखमा पान चपाउँदै सवैसंग खिसिक्क हास्दै जस्तै दुःखमा पनि रमाउनु हुन्थ्यो । उहाको यो सादा, सरल, पहिरन नभएर जीबन थियो । उहाँको व्यवहारिकताले नै उहाँको व्यक्तित्व लाई उचो राखेको थियो । आफ्ना नीजि समस्याहरूलाई संधै पर सान्ने, सामूहिक स्वार्थलाई केन्द्र विन्दु बनाई कामगर्ने पार्टी निर्णयलाई एक वफादार सिपाहीको रुपमा स्वीकारने र व्यवहारिकतामा परिचालित बन्ने गर्नहुन्थ्यो । सुविधाभोगी चिन्तनबाट सधै टाढा रहने गुणले अझै उहाँलाई ओजश्वीपूर्ण बनाएको थियो। मुलुकको कम्युनिष्ट आन्दोलनमा देखापर्ने गरेका तमामखाले विकृति, विसङ्गतिहरूको उहाँले सधैभरी विरोध गर्दै आउनु भयो । जनताको बहुदलीय जनवादलाई नेपाली माटोमा हुर्काउन उहाँ निरन्तर लाग्नुभयो । उहाँ आजीवन प्रतिक्रियावादीहरुको विरुद्ध आक्रोशको ज्वाला दन्काई रहनु भयो । मुलुकको प्रजातन्त्र एवम् मानव अधिकारको लागि तथा तत्कालीन निरंकुश पञ्चायती तानाशाहहरूका विरुद्ध साथै २०४६ सालको ऐतिहासिक जनआन्दोलनद्वारा प्राप्त बहुदलीय व्यवस्था लाई संस्थागत गर्न निरन्तर र निःस्वार्थ रुपले सम्झौताहीन सङ्घर्ष गर्नुभयो । उहाँ आफ्नो प्रतिकुल स्वास्थ्यको पनि ख्याल नराखी मधुमेह, दम, उच्च रक्तचाप जस्ता विमारले ग्रस्त बन्दा पनि चिन्तित नबनी उहाँ मात्र देश र जनताकै बारेमा चिन्तित हनुहुन्थ्यो । तर कहिलेकाहीं पार्टीभित्रै देखापर्ने अस्वस्थ प्रतिस्पर्धा र गैरअनुशासनात्मक कार्यले मात्र उहाँलाई बढी चिन्तित बनाउने गर्यो । उहाले एमाले सरकारमा पुगेको बेला नागरिकता जस्तो अप्ठ्यारो र विवादस्पद एवम् जोखिमपूर्ण कामलाई उहाको जिम्मामा सुमपियो । उहाँले उच्चस्तरीय नागरिकता छानविन आयोगको प्रमुखमा रहेर छोटो समयमै आफ्नो जिम्माको काम सफलतापूर्वक पुरा गर्नुभयो। उहाँले उक्त आयोग प्रमुखमा रही निर्वाह गर्नुभएको भूमिका एवम् कडा मेहनत र गहन अध्ययनपश्चात् तयार पारिएको प्रतिवेदन अहिले पनि ‘धनपति आयोग’ को नामले चारैतिर परिचित र प्रशसाको विषय बनेको छ भने अर्कोतिर उहाँको चौतर्फी लोकप्रियताको कारण उहाँ गैरकम्युनिष्टहरू बीच पनि सम्मानित हुनुहुन्थ्यो। अन्त्यमा दाज धनपति उपाध्याय भौतिक रुपमा हामीबीच नभएपनि कम्युनिष्ट सेवा, निष्ठा, कर्तव्य, पराषयताका सन्दर्भमा योगदानको हिसाबले उहाँ आज मरेर पनि हाम्रो बीचमा बाची रहनु भएको छ । उहाँका निःस्वार्थी भावना, कार्यलगनशीलता, इमान्दारिता, अनुशासन, गलत प्रवृत्तिका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने बानी, गैर सुविधाभोगी चिन्तनका धनी जस्ता दुर्लभ पाइने सद्गुणहरूबाट पाठ सिक्दै अगाडि बढ्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि ठहरने छ।
(लेखक: प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)
वि.सं.२०७७ जेठ २६ सोमवार १८:२४ मा प्रकाशित






























