३१ जेठ, काठमाडौँ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसँगै आएको पहिरोका कारण दुईटा घर बगाएको, २ जनाको शव प्राप्त भएको र ७ जनाको खोजी कार्य जारी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
कुश्मा नगरपालिका ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याले दुईवटा घरहरु पूर्ण रुपमा बगेको, दुई घरभित्र रहेका ९ जनामध्ये तुलबहादुर थापाको श्रीमती र नातीनीको गरी दुईजनाको शव प्राप्त भएको र अन्य सात जनाको खोजी कार्य जारी रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले अन्दाजी साँझको ९.०० बजे पहिरोले घर बगाएको र घरमा रहेका व्यक्तिहरु पुरिएको खबर प्राप्त हुँदासाथ घटनास्थल तर्फ आउँदा पहिरोका कारण ढिला भएकाले थप विवरण आइनसकेको बताएका छन् ।
अझै पनि पानी निरन्तर परिहेको र पहिरो चालु रहेकोले उद्धारकार्यमा जटिलता आएको बताइएको छ ।