
१२ असार, बेलायत । बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापामगरको बेलायतको अल्डरसटस्थित प्रिन्सेस पार्कमा बनाउन लागिएको शालिकका लागि नेपाली समुदायबाट १ लाख पाउण्डभन्दा बढीको प्रतिवद्धता व्यक्त भएको छ ।
जस्मा आज सम्म £१०१३१९.१६ प्रतिवद्धता आईसकेको शालिक निर्माणका लागि गठित समितिका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिएका छन् ।
थापाका अनुसार बिहीबार बिहानसम्म ८९ जना दाता व्यक्ति वा संघ संस्थाबाट जनही १ हजार पाउण्डभन्दा बढीको प्रतिवद्धता प्राप्त भइसकेको छ ।
समितिले १ हजार पाउण्डभन्दा बढी चन्दा दिने १२५ जना दाताको नाम शालिकसँगै शिलालेखमा अंकित गर्ने घोषणा गरेकोमा अब ३७ जना व्यक्ति वा संस्थाको मात्र नाम टङ्कन गर्न सकिने उनले जानकारी दिएका छन् । ‘प्रथम भिसीको सालिकका लागि प्राप्त हुने सहयोग अस्वीकार गर्दैनौँ तर शिलालेखमा १२५ वटाभन्दा बढी स्थान दिन असमर्थ छौँ’ उनले भने ।
१२५ स्थानमा अब बाँकी स्थान पहिले आउनेलाई प्राथमिकताका आधारमा दिइने पनि उनले बताए ।
शालिक निर्माणको लागि १ लाख २५ हजार पाउण्ड लाग्ने पूर्वानुमान गरिएको छ । जसमा आधा रकम शालिक बनाउनका लागि लाग्ने छ ।
प्रक्षेपण गरिएभन्दा बढी सहयोग उठेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा थापाले भने–यो सबै यस प्रोजेक्टको सयोजक टिमले दाताहरूको सुझाव समेत समाबेस गरी निर्णय लिने छ । जस्तै गोरखा वेलफेयर ट्रष्ट र स्थानिय च्यारिटी यस्तै अन्य संस्थालाई दिने भन्नेमा समितिमा छलफल चलिरहेको छ ।
शालिक निर्माणमा स्थानीय रसमुर काउन्सिलले स्थान तथा मर्मतसम्भारको जिम्मा लिएको छ भने ग्रेटर रसमुर नेपाली कम्युनिटीमार्फत नेपाली समुदायले शालिक निर्माण र प्रतिस्थापन वापत लाग्ने खर्चको जिम्मा लिएका छन् ।