काठमाडौं । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला केन्द्रिय नेताहरु पार्टी एकता जोगाउन माग गर्दै धर्नामा बसेका छन् । नेकपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा नेताहरु धर्नामा बसेका हुन् ।
धर्नामा लेखनाथ न्यौपाने, ठाकुर गैरे, रविन कोइराला, भास्कर काफ्ले, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायत २० भन्दा बढी नेताहरु सहभागी छन्। शुक्रबार दिउँसो १ बजेदेखि धर्ना कार्यक्रम सुरु भएको हो ।
धर्नामा बसेका नेताहरुले ‘कम्युनिष्ट पार्टी नीति प्रधान हो, नेता प्रधान हैन’, ‘समस्या समाधान पार्टी विधानभित्रैबाट खोज’, ‘पार्टी एकता बलियो बना’उ जस्ता नारा लेखेको प्लेकार्ड भिरेका छन् । सहभागी नेताहरुको कुनै नेताको स्वार्थमा पार्टी विभाजन हुन नहुने माग गरेका छन् ।
दिउँसो १ बजेदेखि सुरु भएको धर्ना कार्यक्रम ४ बजेसम्म जारी रहने जनाइएको छ ।

स्थायी समितिका ३० सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी भएसँगै नेकपाभित्र तिव्र विवाद सिर्जना भएको छ । तिव्र विवादका बीच प्रधानमन्त्री ओलीले संसद स्थगन गरेका छन् । विवादकै बीच निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता भएको छ ।
नेकपाभित्र विकसित विवादले पार्टी एकता नै संकटमा पर्ने देखिएसँगै पार्टी दोस्रो तथा तेस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् । नेताहरुले पार्टी एकता बचाउनु पर्ने भन्दै शीर्ष नेतृत्वलाई दबाब कार्यक्रम गरिरहेका छन् ।
वि.सं.२०७७ असार १९ शुक्रवार १५:२८ मा प्रकाशित






























