काठमाडौं । पार्टीभित्र देखिएको विवादमा निर्णायक वार्ता भनि अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सुरु भएको छलफल निष्कर्ष बिहिन बनेको छ ।
नेकपा स्रोतले जनाएअनुसार छलफल सकारात्मक भएपनि कुनै निष्कर्ष भने निस्किएको छैन् । जनाइएअनुसार भोली (सोमबार) पुनः अध्यक्षद्वयबीच वार्ता हुनेछ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षको तर्फबाट दुई–दुई जना सहयोगीसमेत सहभागी थिए । छलफलमा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल सहभागि थिए भने प्रचण्डको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी भएका थिए ।
सहमतीय बिन्दु खोज्न कार्यदल सक्रिय बन्ने सम्भावना
जनाइएअनुसार आइतबारको छलफलमा यसअघि पार्टीभित्र भएका सहमतीलाई पालना नभएको बारेमा कुराकानी भएको थियो । छलफलमा पार्टी एकतापूर्व र एकतापश्चात भएका महत्वपूर्णं सहमतीका बारेमा दुवै पक्षले आ–आफ्नो कुरा राखेका थिए ।
छलफलमा ०७५ जेठ २ मा भएको सहमती र ०७६ मंसिरमा भएको सहमतीका बारेमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले पार्टी एकतापूर्व ०७५ जेठ २ मा भएको सहमतीलाई पालना गर्नुपर्ने बताएका थिए । जेठ २ मा भएको ५ बुँदे सहमतीमा सरकार र पार्टी नेतृत्वबारे आलोपालोको मान्यतालाई स्वीकार गरिएको छ ।
आइतबारको छलफलमा अध्यक्षद्वयसँगै यसअघि ५ बुँदेका सुत्राधार विष्णु पौडेल र जनार्दन शर्माको उपस्थिति थियो । छलफलमा मन्त्री वर्षमान पुन र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी थिए ।
५ बुँदेका सुत्राधार नेताहरुको सहभागिता र थप २ जना साँक्षीको सहभागिताले नेकपाभित्र सहमतीको लागि नयाँ कार्यदल बन्न सक्ने अनुमान गरिएको छ । पार्टीभित्र विवाद भएसँगै अध्यक्षद्वयबीच पटक–पटक हुने छलफलमा यसअघि भएका सम्झौता महत्वका साथ उठ्दै आएका थिए ।
सम्बन्धित समाचार
नेकपा विवाद समाधान होला त ? ओली–प्रचण्ड जुटे निर्णायक छलफलमा
वि.सं.२०७७ असार २१ आइतवार १५:०७ मा प्रकाशित






























