
२२ असार, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले यसअघि तोकिएकै मितिमै १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण महाधिवेशनको प्रक्रियागत कार्यतालिका रोकिए पनि आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको यसअघिको तालिका परिमार्जन गर्ने निर्णय गरेको हो ।
यसअघि कार्तिकदेखि वडा अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएकोमा अब २ महिना पछाडि अर्थात् पुसबाट शुरु गर्न लागिएको छ ।
संशोधित कार्यतालिकाअनुसार १० साउनभित्र बाँकी जिल्लाहरूको समायोजन सक्नुपर्नेछ । ५१ जिल्लाको समायोजन सकिएको छ भने २६ जिल्लाको बाँकी छ । त्यस्तै बैठकले क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ । मंसिर मसान्तभित्र क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानबिन प्रकृया सकेर सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने छ । त्यसपछि वडा तहदेखि अधिवेशनको प्रकृया सुरु हुने महाधिवेशन परिमार्जित तालिकामा उल्लेख छ ।
- यस्तो छ कार्यतालिका :
गाउँ र नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
गाउँ र नगरपालिका अधिवेशन – २०७७ पुस ८ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते
प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
केन्द्रीय महाधिवेशन – २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।
आजको बैठकमा काँग्रेसको महाधिवेशनको कार्यतालिकाका साथै समसामयिक विषयमा समेत छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।