
( १ )
रातदिन बगैंचा सिँगार्ने मालीलाई गाली दिन्छन् यहाँ
गोत्र मिलेपछि भ्रष्ट नेतालाई पनि ताली दिन्छन् यहाँ
सेतोलाई सेतो कालोलाई कालो भन्ने कोही भेटिएन
बुझ्नेले पनि सबैलाई एउटै घानमा हाली दिन्छन् यहाँ
( २ )
जमेको पानीझैं यथास्थितिमा रहनु राम्रो होइन
यथार्थ कुरो नबुझी भावनामा बहनु राम्रो होइन
हामी वीर गोर्खालीको सन्तान हौं बुझ सरकार
दुश्मनको अत्याचार चुपचाप सहनु राम्रो होइन ।
( ३ )
आजभोलि आफ्नै खेतीपातीमा रमाएको छु
बाँझो खेतमा तरकारीको बेर्ना जमाएको छु
तैंले पढेर के पो नापिस भन्लान् कसै कसैले
पुर्खाले गर्दै आएको कृषि पेसा समाएको छु ।
( ४ )
बीच बाटोमा धोका दिनु रहेछ मेरो बारी गोड्यौं किन
मध्य रातमा एक्लै छाडेर अन्तैतिर बाटो मोड्यौं किन
धन केही होइन भावनात्मक नाता ठूलो भन्ने गर्दथ्यौं
आखिर धनी बाउको छोरासँग सम्बन्ध जोड्यौं किन।
( ५ )
उनीहरूसँग बोल्नै हुन्न झर्किन खोज्छन्
संकटको घडीमा आफैं तर्किन खोज्छन्
टाढाको मान्छेबाट बरु सहयोग पाइएला
आफ्नाले त घाउमा नुन छर्किन खोज्छन् ।